
इन्ट्रा मोर्गेजको प्रस्तुतिमा आउँदो “फर्स्ट ४० प्लस एण्ड भलिबल कप २०२५” भव्य रूपमा आयोजना गरिने भएको छ। दशैं–तिहारको उत्सवलाई खेलकुदसँग जोड्दै समुदायभित्र एकता, मैत्री र खेलभावनाको सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिता इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको सहकार्यमा सञ्चालन गर्न लागिएको हो।

यो प्रतियोगिता विशेष रूपमा ४० वर्षमाथिका पुरुषहरू र महिला खेलाडीहरूका लागि समर्पित छ, जसले खेलप्रति अझै जोश र समर्पण देखाइरहेका छन्। आयोजकका अनुसार, यो प्रतियोगिताले भलिबल प्रेमीहरूलाई मात्र होइन, सम्पूर्ण नेपाली तथा भूटानी समुदायलाई पनि एक ठाउँमा ल्याउनेछ। दशैं–तिहारको उल्लासपूर्ण माहोलमा आयोजना हुने यो कार्यक्रमले समुदायमा आपसी सम्बन्ध, सहयोग र खेलप्रतिको सम्मानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा पुरुष ४० प्लस समूहका विजेताले ट्रफी, मेडल र नगद ८,००० डलर प्राप्त गर्नेछन् भने रनर–अप टोलीलाई ट्रफी, मेडल र ५,००० डलर प्रदान गरिनेछ। त्यस्तै, महिला वर्गमा पहिलो हुने टोलीले ट्रफी, मेडल र ३,५०० डलर पुरस्कारका रूपमा पाउनेछन्, र दोस्रो हुने टोलीले ट्रफी, मेडल र २,००० डलर प्राप्त गर्नेछन्।

स्पोर्ट कोअर्डिनेटर खडा सुवेदी र टुर्नामेन्ट कोअर्डिनेटर निशल लामा रहेका छन्। उनीहरूले खेलाडीहरूलाई प्रोत्साहन दिने, निष्पक्ष खेल सुनिश्चित गर्ने र प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भइरहेको बताएका छन्। आयोजक टोलीले यस प्रतियोगितालाई केवल खेलकुदको अवसर नभई, समुदायभित्रका अग्रजहरू र महिलाहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने एक मञ्चको रूपमा पनि लिएको छ।

अमेरिकी समुदायबाट सुरु भएको पहिलो मोर्गेज लोन प्रदायक संस्था हो। यो कम्पनीको सह–स्थापना डिल्ली अधिकारी, बिरस अधिकारी, रायन शर्मा, लोकेश पोखरेल र उदय मिश्रा टिमबाट सुरु गरिएको हो। डिल्ली अधिकारी कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (CEO) हुनुहुन्छ भने बिरस अधिकारी बिक्री विभागका उपाध्यक्ष हुनुहुन्छ। इन्ट्रा नेसनल वेलफेयर सपोर्ट एण्ड फाउण्डेशनसँगको सहकार्यले कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कोलम्बसमा हुने यो प्रतियोगिता दशैं–तिहारको रमाइलो माहोलमा खेल र संस्कृतिको सुन्दर संगमको रूपमा स्थापित हुनेछ। समुदायका सदस्यहरूले खेलका माध्यमबाट एकअर्कासँग भेटघाट गर्ने, हौसला बढाउने र खुसी साट्ने अवसर मिल्ने स्पोर्ट कोअर्डिनेटर खडा सुवेदीले बताउनु भएको छ।