
ह्यारिसबर्ग, पेन्सिलभेनिया — नेपाली भाषी भुटानी समुदायको फुटबल महोत्सवको रुपमा परिचित कालु सिंह स्मृति च्याम्पियनसिपमा युनाइटेड ब्रदर्स स्पोर्टिङ क्लब (युबिएससी
) फेरि चम्किएको छ। आइतबार साँझ ह्यारिसबर्गको स्काइलाइन स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनल खेलमा युबिएससीले ह्यारिसबर्ग एफसीलाई १–० ले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो।युबिएससीमा भने चर्चित खेलाडी दिनेश पकवाल, रमेश पकवाल र किरण थापा थिए भने टिम कोचमा दीपक पकवाल रहेका थिए।
खेलको सुरुवाती समयमै तीव्र आक्रमणमा उत्रिएको युबिएससी
ले दोस्रो हाफको सुरुवातमै सोनाम लामाको गोलबाट अग्रता बनायो।भूतपूर्व राष्ट्रिय फुटबल टिमका खेलाडी कालु सिंह तामाङको सम्झनामा सन् २०१७ मा सुरु गरिएको यो च्याम्पियनसिप आज अमेरिकाभरका भुटानी युवाहरूलाई एकताबद्ध गर्ने अवसर बनेको छ। सुरुमा परिवार र साथीभाइले व्यक्तिगत स्तरमा आयोजना गर्ने यो यात्रा अहिले रिप्युजी युनाइटेड (ARU) को संरचनामा संस्थागत भइसकेको छ। ‘सकर फर सक्सेस’ परियोजनामार्फत बालबालिकालाई फुटबल प्रशिक्षण दिने यस अभियानलाई यो च्याम्पियनसिपले थप मजबुत बनाएको आयोजकको भनाइ छ।
प्रतियोगितामा यस वर्ष आठ टिमले सहभागिता जनाएका थिए। समूह चरण पार गर्दै सेमिफाइनलसम्म पुगेका चार टिममध्ये अन्ततः युबिएससी र ह्यारिसबर्ग एफसी निर्णायक भिडन्तमा उत्रिएका थिए।
ह्यारिसबर्ग एफसीले सिन्सी राइनोलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने युबिएससीले गत वर्षकै कोलम्बस भेट्रन्सलाई १–० ले स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको थियो।
विजेता बनेको युबिएससीले ५,००० अमेरिकी डलर, आकर्षक ट्रफी र पदक हात पार्यो। उपविजेता ह्यारिसबर्ग एफसीले पनि ३,००० डलर, ट्रफी र पदक जित्यो।फाइनल खेलको ‘म्यान अफ द म्याच’ सोनाम लामा घोषित भए। उनले प्रतियोगिताभर पाँच खेलमा पाँच गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि समेत जिते।त्यस्तै, उत्कृष्ट डिफेन्डरमा सुभाष गुरुङ (एफसी रिभाइवल), उत्कृष्ट गोलकिपरमा ओम गौतम (कोलम्बस भेट्रन्स), मस्ट भ्यालुएबल प्लेयरमा कमल सुब्बा (पिट्सबर्ग भेट्रन्स) र उत्कृष्ट म्यानेजरमा लालमान गुरुङ (मिडलिफ किकर्स) सम्मानित भए।
पुरस्कार वितरण कार्यक्रममा साहित्यकार डा. नारायण पोखरेल, चिकित्सक डा. खेमा अधिकारी, समाजसेवी नारायण पोखरेल, भुटानी कम्युनिटी अफ ह्यारिसबर्ग (BCH) की उपाध्यक्ष विनिता पुरी राईलगायतको उपस्थितिमा समापन गरिएको थियो।आयोजक समितिका अध्यक्ष रत्न गुरुङले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, आगामी दिनमा अझ ठूलो स्तरमा आयोजना गर्ने संकेत पनि दिए।