स्क्रेन्टन, पेनसिल्भेनिया —झापा, नेपालस्थित खुदुनाबारी शरणार्थी शिविरमा जन्मेर हुर्किएकी प्रकृति सिटौला शर्माको जीवनकथा संघर्ष, धैर्य र सेवाभावले भरिएको छ। सन् २०१० मा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) मार्फत परिवारसहित अमेरिका पुनर्वास हुँदै उनले नयाँ जीवन यात्रा सुरु गरेकी हुन् ।
न्युयोर्कको ब्रङ्क्समा केही वर्ष अध्ययन गरेपछि उनी स्क्रेन्टनमा फेरि शिक्षालाई निरन्तरता दिएकि हुन् । स्क्रेन्टन हाई स्कूलबाट स्नातक गर्दै उनले शैक्षिक क्षेत्रमा मात्र होइन, खेलकुद र क्लबहरूमा समेत उत्कृष्टता प्रदर्शन गरिन्। फुटबल खेलाडी र सकृय विद्यार्थी नेतृका रूपमा उनले सानै उमेरदेखि नेतृत्व र सहकार्यको उदाहरण प्रस्तुत गरिन्।
आज प्रकृति सिटौला शर्मा स्क्रेन्टनको पहिलो भूटानी–नेपाली महिला प्रहरी अधिकारी बनेकी छिन्, जुन उपलब्धिले सम्पूर्ण समुदायलाई गौरवान्वित बनाएको छ। उनले २०२३ जुनमा ल्याकावाना कलेज प्रहरी एकेडेमी एक्ट १२० प्रहरी तालिम कार्यक्रमबाट स्नातक गर्दै पेन्सिलभेनिया प्रहरी तालिम तथा शिक्षण आयोग प्रमाणपत्र हासिल गरिन्। साथै अपराध अनुसन्धान विषयमा (उत्कृष्ट श्रेणीसहित) एसोसिएट डिग्री प्राप्त गर्दै प्रतिष्ठित फाइ थिटा कप्पा सम्मान समाजकी सदस्य समेत बनिन्। हाल उनी क्रिमिनल जस्टिसमा स्नातक तह अध्ययन गर्दैछिन्, जसमा एडिक्सन स्टडीज (एडिक्सेन अध्ययन) लाई आफ्नो विशेषता बनाएकी छन्।
सन् २०२३ सेप्टेम्बरदेखि उनले ह्वाइट हेवन प्रहरी विभागमा प्रहरी सेवामा प्रवेश गर्दै व्यावहारिक अनुभव हासिल गरिरहेकी छन्। उनको पेशागत इमानदारी, लगनशीलता र कडा परिश्रमले विभागलाई बलियो बनाएको छ।उनको योगदान भने केवल प्रहरी सेवासम्म सीमित छैन। उनले भूटानी संस्कृति फाउन्डेसन अफ स्क्रेन्टन एसोसिएसन मार्फत समाजसेवा गर्दै आएकी छन्। नेपाली, हिन्दी र अंग्रेजीमा दक्ष भएकी उनले त्रिभाषिक प्रतिनिधिका रूपमा समुदायलाई सहयोग पुर्याउँदै आएकी छन्। साथै, होम हेल्थ एडका रूपमा सेवाग्राहीलाई सहयोग गरेकी र ल्याकावाना कलेज मा क्रिमिनल जस्टिस ट्युटरको रूपमा साथीहरूलाई मार्गदर्शन पनि गरेकी छिन्।
करिब तीन वर्षदेखि सेवा दिँदै आएकी प्रकृति सितौला शर्मा आज समुदायकै गौरव र प्रेरणाको श्रोत बनेकी छन्। शरणार्थी शिविरको बाल्यकालदेखि अमेरिकी भूमिमा प्रहरी वर्दी धारण गर्नसम्मको उनको यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण प्रवासी नेपाली–भूटानी समुदायको दृढता र सफलताको प्रतिबिम्ब हो।स्क्रेन्टनमा पहिलो नेपाली महिला प्रहरी अधिकारीको रूपमा प्रकृति सिटौला शर्मा आशा, प्रगति र समावेशिताको प्रतीक बनेकी छन्—समुदायका युवा पुस्ताका लागि प्रेरणादायी आदर्शका रूपमा।