
अमेरिकामा क्रियाशील सामाजिक संस्था ड्रिम सपोर्ट फाउन्डेसन अफ यूएसए ले शनिबार, फेब्रुअरी १४, २०२६ का दिन पेन्सिल्भेनियाको ल्यान्कास्टरस्थित ताज महल हल मा भव्य भ्यालेन्टाइन डे विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।
प्रेम, आत्मीयता र सम्बन्धको सम्मान गर्ने विशेष दिन भ्यालेन्टाइन डे प्रेमी–प्रेमिकाबीचको प्रेम मात्र नभई परिवार, मित्रता र मानवता प्रतिको माया र सम्मान व्यक्त गर्ने अवसरका रूपमा विश्वभर मनाइन्छ। यही भावनालाई आत्मसात गर्दै फाउन्डेसनले समुदायलाई एकै स्थानमा जोड्ने, आपसी सद्भाव बढाउने र सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपाली समुदायको सामाजिक सेवा, सांस्कृतिक संरक्षण र एकता प्रवर्द्धन गर्दै आएको ड्रिम सपोर्ट फाउन्डेसन अफ यूएसए ले यसअघि पनि विभिन्न परोपकारी तथा सांस्कृतिक कार्यक्रममार्फत समाजमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कला, संगीत र संस्कृतिको माध्यमबाट समुदायलाई सशक्त बनाउँदै ल्याउनु संस्थाको प्रमुख उद्देश्य हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली संगीतका वरिष्ठ तथा सुप्रसिद्ध गायक रामकृष्ण ढकाल ले लाइभ ब्यान्ड सहित आफ्ना चर्चित प्रेमिल तथा भावनात्मक गीतहरू प्रस्तुत गर्नेछन्। दशकौँ देखि नेपाली संगीत क्षेत्रमा अमूल्य योगदान पुर्याएका ढकालका गीतहरूले प्रेम, समर्पण, पीडा र जीवनका यथार्थ भावनालाई गहिरो रूपमा अभिव्यक्त गर्छन्, जसले कार्यक्रमलाई अझ रोमाञ्चक र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
निःशुल्क प्रवेश, २१ वर्षभन्दा माथिका लागि मात्र खुला यो कार्यक्रम दिउँसो ३ बजे देखि सुरु हुनेछ। प्रेम, संगीत र सांस्कृतिक एकताको उत्सवका रूपमा आयोजना हुने यस कार्यक्रममा सहभागी भई भ्यालेन्टाइन डेलाई अविस्मरणीय बनाउन आयोजक पक्षले सम्पूर्ण समुदायलाई हार्दिक आमन्त्रण गरेको छ।

81 पटक हेरिएको 
