
ह्यारिसबर्ग, पेन्सिलभेनिया — क्रियमाण फाउन्डेसनको आयोजनामा तेस्रो वार्षिक ‘संगालो: Reading for Resilience’ कथा वाचन प्रतियोगिता आगामी शनिबार, सेप्टेम्बर ५, २०२६ मा ह्यारिसबर्गमा आयोजना हुने भएको छ। नेपाली भाषा, साहित्य, संस्कृति र समुदायका सामूहिक स्मृतिलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा ६ वर्षदेखि २० वर्ष उमेर समूहका २४ जना बालबालिका तथा युवाहरूले विभिन्न कथाहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रममा पेन्सिलभेनियाका ह्यारिसबर्ग, ल्यान्कास्टर, मेकानिक्सबर्ग र पिट्सबर्गका साथै ओहायोका कोलम्बस, क्लिभल्यान्ड र सिन्सिनाटीबाट प्रतियोगीहरूको सहभागिता रहनेछ। कार्यक्रम बिहान १०:३० बजेदेखि 6300 Chambers Hill Road, Harrisburg, PA 17111 मा सुरु हुनेछ।

‘संगालो’ केवल कथा वाचन प्रतियोगिता नभई समुदायका सामूहिक स्मृति, अनुभव र इतिहासलाई सम्झने तथा त्यसलाई नयाँ पुस्तासम्म पुर्याउने मञ्चका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। कतिपय कथा लिखित रूपमा सुरक्षित भए पनि धेरै अनुभव र जीवनका भोगाइहरू मानिसहरूको स्मृतिमै सीमित रहने भएकाले ती कथाहरूलाई नयाँ पुस्ताका आवाजमार्फत प्रस्तुत गर्ने प्रयास कार्यक्रमले गर्नेछ।

बसाइँसराइ, विस्थापन, परिवार, त्याग, भाषा, पहिचान, संघर्ष, आशा, साहस, स्मृति र नयाँ सुरुवातजस्ता विषयसँग जोडिएका कथाहरू प्रतियोगितामा प्रस्तुत हुनेछन्। आयोजकका अनुसार यी कथाहरू नयाँ पुस्ताले आफ्नै आवाजमा प्रस्तुत गर्दा विगतका अनुभवहरू केवल पुराना सम्झना नभई समुदायको सामूहिक इतिहास र पहिचानको हिस्सा बन्नेछन्। ‘संगालो’ शब्दले नै विभिन्न कुरा एकै ठाउँमा जम्मा गर्ने अर्थ बोकेकाले कार्यक्रमले पुस्तालाई पुस्तासँग, कथालाई कथाकारसँग र विगतलाई वर्तमानसँग जोड्ने उद्देश्य राखेको छ।

प्रतियोगितामा नेपाली भाषा कति राम्रोसँग पढ्न सकिन्छ भन्ने कुरालाई मात्र निर्णायक आधार नबनाइने आयोजकले स्पष्ट पारेको छ। त्यस्तै, प्रस्तुत गरिएको कथा राम्रो वा नराम्रो भन्ने आधारमा पनि प्रतियोगीको मूल्यांकन गरिने छैन। प्रतियोगीको प्रस्तुति, उच्चारण तथा शुद्धता, वाचन शैली, दर्शकसँगको सम्बन्ध, आत्मविश्वास, अभिव्यक्ति र प्रयासजस्ता पक्षलाई मुख्य रूपमा मूल्यांकन गरिनेछ। यसले नेपाली भाषा पढ्ने क्षमता फरक–फरक भएका बालबालिका तथा युवाहरूलाई समेत आफ्नो प्रतिभा र अभिव्यक्ति प्रस्तुत गर्ने समान अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस वर्षको कार्यक्रममा धार्मिक नेतृत्व, शिक्षा, साहित्य, संगीत शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा अनुभव भएका व्यक्तित्वहरूको अतिथि तथा निर्णायकका रूपमा सहभागिता रहनेछ। पण्डित हेम ढकाल, अर्जुन रसाइली, गंगा लामिटारे, निशा लीला, द्रौपदी प्रधान, मुस्कान बालाम्पाकी, टीला आचार्य र टीकाराम राईलगायतको सहभागिता रहने आयोजकले जनाएको छ। बालबालिका तथा युवासँग शैक्षिक, सांस्कृतिक र सामुदायिक क्षेत्रमा काम गरेको उनीहरूको अनुभवले प्रतियोगिताको मूल्यांकनलाई भाषिक दक्षताभन्दा माथि उठाएर प्रस्तुति, आत्मविश्वास, प्रयास र अभिव्यक्तिमा केन्द्रित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतियोगितामा विभिन्न लेखकका परिवार, भाषा, पहिचान, बसाइँसराइ, विस्थापन, संघर्ष, आशा, साहस, स्मृति र नयाँ सुरुवातसँग सम्बन्धित कथाहरू प्रस्तुत हुनेछन्। गंगा लामिटारेका ‘बुढाथोकीको अम्मर गाथा’, ‘भाषाको मलामी’ र ‘सपनाको सन्देश’ तथा विष्णु लुइँटेलका ‘कवि नारायण प्रसाद लुइँटेल’ र ‘ग्यासच्याम्बरको यात्रा’ प्रस्तुत हुनेछन्। त्यस्तै, दिपेश चापागाईंका ‘आशाको प्रतीक्षा’ र ‘आमाको त्याग’, ओम घिमिरेका ‘जीवन भाइको दसैं’ र ‘देश गुमेको दिन’ तथा भरत तिम्सिनाका ‘जन्तरेको कथा’ र ‘झोले बाजे’ पनि प्रतियोगितामा समावेश छन्।
यसैगरी निशा लीलाको ‘माया भट्टराई’, गोविन्द हुमागाईंको ‘बसाइँसराइ र नयाँ सुरुवात’, टीका ढुंगानाको ‘फेरि उठ्ने ठाउँ बाँकी हुन्छ’, द्रौपदी प्रधानको ‘पवित्र सम्बन्धमा अविश्वासको पर्खाल’, शेखर काकुको ‘कर्मको पसिना र घिउको बास्ना’, जे. एन. दाहालको ‘अमेरिका आउँदा’ र रिमेन आलोकको ‘घर छोड्दा बोकेका सम्झनाहरू’ पनि प्रस्तुत हुनेछन्।
देवी तिम्सिनाको ‘एउटा बीउको यात्रा’, पातलो अन्तरेको ‘आँशुबाट जन्मिएको साहस’, भक्त घिमिरेको ‘आयुको पुस्ता र खरानीको दाम्लो’, मधु घिमिरेको ‘गन्तव्यविहिन यात्रा’, देवी दाहाल दागानेको ‘दोस्रो कालो नवरात्रि’ तथा राम कार्कीको ‘शिविर स्थापना रोक्ने असफल प्रयास’ लगायतका कथाहरू पनि प्रतियोगितामा सुनाइनेछन्।
क्रियमाण फाउन्डेसनले कार्यक्रममा सहभागी भएर बालबालिका तथा युवाहरूले प्रस्तुत गर्ने कथा प्रत्यक्ष सुन्न सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ। आयोजकले समुदायलाई आफ्ना अग्रजहरूको जीवन र संघर्ष सम्झन, ओझेलमा परेका आवाजहरू सुन्न तथा सामूहिक स्मृतिलाई सँगाल्दै आगामी पुस्तासम्म पुर्याउन कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।
‘संगालो’ ले यस वर्ष पनि कथा वाचनमार्फत पुस्ताबीचको सम्बन्ध बलियो बनाउँदै समुदायको इतिहास, अनुभव र पहिचानलाई नयाँ पुस्तासँग जोड्ने अपेक्षा गरिएको छ।



