
काठमाडौँ — गायिका निशा सुनार र गायक तथा संगीतकार खेम सेन्चुरीको स्वरमा सजिएको नयाँ नेपाली लोकगीत ‘झ्याप छौ कि साइलो दाइ’ सार्वजनिक भएको छ। सानिशा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताको सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ।
नेपाली लोकसंगीतका चर्चित सर्जक रमेश बिजीको शब्द रचना रहेको गीतमा खेम सेन्चुरीकै संगीत रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने १डिबी एचडी नेक्स्ट लेभल स्टुडियोमा राज खड्काले अडियो रेकर्डिङ गरेका हुन्।

गीतको म्युजिक भिडियोमा चर्चित अभिनेता नजिर हुसेन र मोडल उषा उप्रेतीलाई मुख्य भूमिकामा देख्न सकिन्छ। रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार भएको भिडियोमा नजिर र उषाको अभिनय तथा नृत्यको जुगलबन्दी आकर्षक देखिएको छ।

ब्ल्याकबिस पिक्चर्सका सुनिल बिकेको निर्देशनमा तयार भएको भिडियोको छायांकन अनिल के. मानन्धरले गरेका हुन् भने प्रबिन भट्टले सम्पादन गरेका छन्। भिडियोको कलरिङ राजेन्द्र मोक्तान, श्रृङ्गार ज्योति केसी तथा प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकलले सम्हालेका छन्।
गलबन्दी प्रोडक्सनको पोस्ट–प्रोडक्सनमा तयार भएको ‘झ्याप्प छौ कि साइलो दाइ’को भिडियो सार्वजनिक भएसँगै युट्युबमा राम्रो भ्युजसँगै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। गीतको मौलिक लोकलय, आकर्षक प्रस्तुति र नजिर–उषाको जोडीले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ।



