छैटौँ भूटानी माझी सम्मेलन भव्य रूपमा सम्पन्न, संस्कृति, उपलब्धि र एकताको उत्सव

मोनरो, ओहायो — अगस्ट ८, २०२६। भूटानी अमेरिकन माझी कम्युनिटी (BAMC) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन २०२६ शनिबार, अगस्ट ८ मा ओहायोको मोनरोमा भव्य रूपमा सम्पन्न भएको छ। अमेरिकाका विभिन्न स्थानबाट भूटानी माझी समुदायका सदस्य, परिवार, अगुवा, विशिष्ट अतिथि, कलाकार, युवा तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न सम्मेलन माझी संस्कृति, सम्पदा, उपलब्धि र सामुदायिक एकताको उत्सवका रूपमा रहेको थियो।

कार्यक्रमको अध्यक्षता BAMC का अध्यक्ष प्रेम माझीले गर्नुभएको थियो भने भूटानी कम्युनिटी अफ सिनसिनाटी (BCC) का अध्यक्ष पुष्प लुइँटेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा ग्लोबल भूटनीज अर्गनाइजेसन (GBO) का CEO तथा अध्यक्ष डी.बी. राई, युनिभर्सल मानव धर्म सेन्टर कर्पोरेसनका अध्यक्ष तथा BCC का उपाध्यक्ष राम गुरुङ, डा. दिनेश चौहान, Healthy Homecare & Adult Daycare का CEO लीला कुइँकेल, रियाल्टरहरू अम्बर गुरुङ, सुभाष आचार्य, विष्णु खरेल तथा खेम तिम्सिना, साथै प्रहरी अधिकारी कृष्ण आचार्यको उपस्थिति रहेको थियो।

कार्यक्रम बिहान करिब ११:३० बजे विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिबाट सुरु भएको थियो। चित्रकला प्रतियोगिता, बोरा दौड, बेलुन फुटाउने खेल, म्युजिकल चेयरलगायतका गतिविधिमा बालबालिका, युवा, परिवार तथा समुदायका सदस्यहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रमले सम्मेलन स्थललाई थप उत्साहपूर्ण, रमाइलो र आत्मीय बनाएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन BAMC का Program Director सनमान माझीले गर्नुभएको थियो। प्रिया माझीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानसँगै औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।

सम्मेलनमा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। आरुष माझी, समीर, करुण, हेमसागर माझी र बेधा प्रधानले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। त्यसैगरी रिजा, सोफिया, जेसिका, प्रिया, प्रियश, प्रभा, रत्न, रेखा माझी/श्रेष्ठ, नव डान्स ग्रुपकी नबिना तामाङलगायत अन्य प्रतिभाशाली बाल तथा युवा कलाकारहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कलाकारहरूको विविध प्रस्तुतिले सम्मेलनमा थप उत्साह, ऊर्जा र सांस्कृतिक रौनक थपेको थियो।

सम्मेलनमा शैक्षिक उपलब्धि तथा सामुदायिक योगदानको सम्मानलाई पनि विशेष प्राथमिकता दिइएको थियो। हालै उच्च माध्यमिक शिक्षा पूरा गरेका निदम माझीलाई उहाँको शैक्षिक उपलब्धिको कदरस्वरूप डा. दिनेश चौहानको हातबाट प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, भूटानी माझी समुदायप्रति लामो समयदेखि पुर्‍याउँदै आउनुभएको योगदान तथा समर्पणको कदर गर्दै ज्येष्ठ सदस्यहरू गौरीमाया माझी, मोनमाया माझी र पूर्णिमाया माझीलाई सम्मान गरिएको थियो।

सम्मेलनको सबैभन्दा ऐतिहासिक तथा गौरवपूर्ण क्षणमध्ये एकका रूपमा डा. सुभाष माझीलाई विशेष सम्मान गरिएको थियो। उहाँले भूटानी माझी समुदायबाट पहिलोपटक Doctor of Human Services उपाधि हासिल गर्नुभएकोमा उहाँको सम्मान तथा अभिनन्दन गरिएको हो। उहाँको यो उपलब्धिलाई सम्पूर्ण माझी समुदायका लागि गौरवको विषय तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा लिइएको छ।

विशिष्ट अतिथिहरू डी.बी. राई, राम गुरुङ र डा. दिनेश चौहानले प्रेरणादायी मन्तव्य राख्दै शिक्षा, नेतृत्व, सामुदायिक एकता, संस्कृति संरक्षण तथा समुदायको निरन्तर प्रगतिका विषयमा आफ्ना महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुभएको थियो।

सम्मेलनकै अवसरमा २०२६–२०२९ कार्यकालका लागि BAMC को नयाँ कार्यसमिति पनि सार्वजनिक गरिएको थियो। नयाँ कार्यसमितिको अध्यक्षमा डा. सुभाष माझी, उपाध्यक्षमा गणेश माझी, महासचिवमा सनमान माझी, कोषाध्यक्षमा सुसन माझी, सचिवमा कविता माझी, Program & Events Director मा जीत माझी, Community Outreach Director मा बुद्ध माझी, Assistant Treasurer मा अमिषा माझी, Culture & Heritage Director मा हेम माझी, Membership Director मा शारदा माझी तथा Youth & Sports Director मा बिशाल माझी चयन हुनुभएको छ।

सम्मेलनले निवर्तमान अध्यक्ष तथा कार्यसमितिको तीन सफल कार्यकालको समर्पित नेतृत्व र सेवाप्रति पनि हार्दिक प्रशंसा तथा कृतज्ञता व्यक्त गरेको थियो। उहाँहरूको प्रतिबद्धता र योगदान BAMC को निरन्तर विकास, प्रगति तथा संस्थागत सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा स्मरण गरिएको थियो।

समापन सत्रमा प्रमुख अतिथि पुष्प लुइँटेलले सम्मेलनमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आयोजक तथा सम्पूर्ण भूटानी माझी समुदायप्रति आभार प्रकट गर्नुभएको थियो। उहाँले माझी समुदायको अझ उज्ज्वल, सबल, एकताबद्ध तथा सफल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको समापनतर्फ कार्यक्रमका अध्यक्ष प्रेम माझी, अध्यक्ष BAMCले विशिष्ट अतिथि, कलाकार तथा प्रस्तोताहरूलाई मायाको चिनो तथा सम्मानस्वरूप उपहार प्रदान गर्नुभएको थियो। साथै विभिन्न खेलकुद तथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।

समापन मन्तव्यमा अध्यक्ष प्रेम माझीले सम्मेलन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख अतिथि, विशेष अतिथि, कलाकार, प्रस्तोता, स्वयंसेवक, सहभागी, परिवार तथा सम्पूर्ण भूटानी माझी समुदायप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको थियो।

छैटौँ भूटानी माझी सम्मेलन २०२६को सफल आयोजनाले BAMC का लागि अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। सम्मेलन केवल एक सामुदायिक जमघट मात्र नभई माझी संस्कृति, सम्पदा, पहिचान, शैक्षिक उपलब्धि, ज्येष्ठ पुस्ताको योगदान, युवा सशक्तीकरण तथा सामुदायिक एकताको उत्सवका रूपमा स्थापित भएको छ।

छैटौँ भूटानी माझी सम्मेलन २०२६ लाई सफल, भव्य र स्मरणीय बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण सहयोगी, सहभागी, स्वयंसेवक, कलाकार, अतिथि तथा शुभेच्छुकहरूप्रति भूटानी अमेरिकी माझी समुदाय(BAMC) हार्दिक आभार व्यक्त गर्दछ।

More From Author

पेन्सिलभेनियाको भुटानी समुदायमा नेतृत्व विवाद, पूर्वअध्यक्ष निरौलाद्वारा एकता र संवादको आह्वान

‘झ्याप छौ कि साइलो दाइ’ सार्वजनिक, नजिर हुसेन र उषा उप्रेतीको दमदार अभिनय

Leave a Reply

Your email address will not be published. Required fields are marked *