
पेन्सिल्भेनियाको पिट्ट्सबर्गमा रहेको किरात कल्चरल सोसाइटी अफ पिट्ट्सबर्गले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। समाजमा महिलाको योगदान, सम्मान र सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन संस्थाको आमा समूहकी अध्यक्ष रबिना राईले दियो बाली औपचारिक रूपमा गर्नुभएको थियो। उद्घाटनपछि सुरु भएको कार्यक्रममा सहभागीहरूले नारी अधिकार, समानता र समाजमा महिलाको महत्वपूर्ण भूमिकाबारे विचार आदान–प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन राधा राईले गर्नुभएको थियो।

कार्यक्रममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहसम्मका आमा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले अन्तरक्रियात्मक रूपमा आफ्ना अनुभव र विचारहरू राख्दै समाजमा महिलाको योगदान, चुनौती र अवसरबारे खुला छलफल गरेका थिए।
कार्यक्रमका क्रममा आमा समूहकी सदस्य सुनिता तामाङले मन्तव्य व्यक्त गर्दै समाजमा नारीहरूको महत्वपूर्ण भूमिका र योगदानबारे चर्चा गर्नुभयो। उहाँले परिवार, समुदाय तथा समाजको समग्र विकासमा महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण महिलाहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमलाई थप अर्थपूर्ण बनाउँदै सहभागीहरूले नारी सशक्तीकरण, समान अवसर र सामाजिक सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए। यसले कार्यक्रमलाई केवल औपचारिक नभई अन्तरक्रियात्मक तथा प्रेरणादायी बनाएको सहभागीहरूले बताएका थिए।
संस्थाका अध्यक्ष जीवन सुब्बाले कार्यक्रममा बोल्दै आमा समूहले समुदायभित्र देखाएको सक्रियता र नेतृत्वप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आमा समूहले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा अग्रसर भूमिका निर्वाह गर्दै समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो।
आमा समूहले आयोजना गरेको उक्त उदाहरणीय कार्यक्रमको कदर गर्दै संस्थाले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला सदस्यहरूलाई खादा, माला तथा टीका लगाएर सम्मान गरेको थियो। सम्मान कार्यक्रममा सहभागी महिलाहरू निकै उत्साहित देखिएका थिए।
कार्यक्रममा महिला तथा पुरुष गरी करिब ४५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा एकता, सम्मान र प्रेरणा बढाउने विश्वास व्यक्त गरेका थिए।
भुटानीज न्यूजका स्थनिया संवाददाता अम्बर राईका अनुसार, पिट्ट्सबर्गमा आयोजना गरिएको यो कार्यक्रमले प्रवासमा रहेका भुटानी–नेपाली समुदायका महिलाहरूलाई एकत्रित गर्दै नारी सम्मान र सशक्तीकरणको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

134 पटक हेरिएको 

