
१२, सेप्टेम्बर २०२६, ह्यारिसबर्ग–समुदायको सेवा, नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा योगदान पुर्याउने १३ जनालाई बुद्धखरी फाउन्डेसनले ‘द कम्युनिटी अपलिफ्ट अवार्ड–२०२६’ प्रदान गरेको छ ।‘सम्मानसाथ मानवताको सेवा, नेतृत्वको कदर, परिवर्तनको प्रेरणा र समुदायको उत्थान’ भन्ने नारासहित आयोजित कार्यक्रममा पेन्सिलभेनिया राज्यकी सिनेटर प्याटी किम, राज्य प्रतिनिधि जस्टिन डगलस, वल्र्ड अफेयर्स काउन्सिल अफ ह्यारिसबर्गकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. जोयस एम. डेभिसलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।
फाउन्डेसनका संस्थापक अध्यक्ष तथा निर्देशक टीकाराम ढुंगानाले समुदायको हितका लागि निःस्वार्थ रूपमा समय, श्रम, ज्ञान र स्रोत खर्च गर्ने व्यक्तिको योगदान पहिचान तथा सम्मान गर्दै अरूलाई पनि सेवामा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सन् २०२२ मे महिनामा स्थापना भएको फाउन्डेसन समुदायको सशक्तीकरण र मानवीय सेवामा सक्रिय रहेको उहाँले बताउनु भयो ।सम्मानित हुनेमा जस्टिन डगलस, नील एच. भण्डारी, रोबिन गुरुङ, विनिता पुरी राई, विष्णुहरि घिमिरे, कर्ण गुरुङ, डिल्लीराम दाहाल, अभि न्यौपाने, कमल धिमाल, सुकमान सुब्बा, विकास राई, सुरज बुढाथोकी र भुवन प्याकुरेल रहनुभएको छ ।
सिनेटर किमले समुदायमा सकारात्मक प्रभाव पार्ने व्यक्तिको सम्मानले सामाजिक उत्तरदायित्व र सेवाको भावना बलियो बनाउने बताउनुभयो । राज्य प्रतिनिधि जस्टिन डगलसले नागरिक सहभागिता र समुदायप्रतिको जिम्मेवारी सबल समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो ।
फाउन्डेसनले ‘सँगै उठौँ’ भन्ने सन्देशसहित सामाजिक सेवा, सामुदायिक एकता र नेतृत्वलाई प्रोत्साहन गर्ने अभियान आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ ।



