
अमेरिकामा बाल यौन दुर्व्यवहार गम्भीर समस्या
पेन्सिलभेनिया, अमेरिका — अमेरिकाको पेन्सिलभेनिया राज्यमा ५० वर्षीय देव पौडेल बाल यौन दुर्व्यवहारसम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका छन्। स्थानीय सञ्चारमाध्यम WGAL News 8 ले अपर एलन टाउनसिप प्रहरीलाई उद्धृत गर्दै पौडेलविरुद्ध बाल बलात्कारसहित विभिन्न अभियोग लगाइएको जनाएको छ।
पेन्सिलभेनियाको कम्बरल्याण्ड काउन्टीस्थित अपर एलन टाउनसिप प्रहरीले सेप्टेम्बर १० मा धेरै वर्षको अवधिमा भएको भनिएको बाल यौन दुर्व्यवहारसम्बन्धी घटनाको जानकारी पाएको थियो। त्यसपछि गरिएको अनुसन्धानमा मेकानिक्सबर्ग निवासी पौडेलले १३ वर्षभन्दा कम उमेरका एक बालिकासँग अनुचित यौन सम्पर्क गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले पौडेललाई सेप्टेम्बर १३ मा नियन्त्रणमा लिएको थिये। पौडेलविरुद्ध बाल बलात्कार, यौन दुर्व्यवहार, गैरस्वेच्छिक विकृत यौन सम्पर्क, गम्भीर अश्लील आक्रमण, नाबालिगलाई भ्रष्ट बनाउने तथा बालबालिकाको कल्याण जोखिममा पार्नेलगायत अभियोग लगाइएको छ।
अमेरिकामा बाल यौन दुर्व्यवहारलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा हेरिएको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (Centre for Disease Control and Prevention–CDC) का अनुसार अमेरिकामा कम्तीमा प्रत्येक चार बालिकामध्ये एक र प्रत्येक २० बालकमध्ये एकले बाल्यकालमा यौन दुर्व्यवहारमा परेका छन्। धेरै बालबालिकाले घटना ढिलो गरी जानकारी गराउने वा कहिल्यै जानकारी नगराउने भएकाले उपलब्ध तथ्यांकले समस्याको वास्तविक आकारलाई कम देखाउन सक्ने सीडीसीले जनाएको छ।
सीडीसीका अनुसार बाल यौन दुर्व्यवहारका करिब ९० प्रतिशत घटनामा पीडित बालबालिका वा उनीहरूको परिवारले चिनेका तथा विश्वास गरेका व्यक्ति संलग्न हुने गरेका छन्। अमेरिकी संघीय अनुसन्धान ब्युरो (FBI) को सन् २०२४ को तथ्यांकअनुसार अमेरिकामा समग्र रूपमा औसत प्रत्येक ४.१ मिनेटमा एउटा बलात्कारको घटना भएको अनुमान गरिएको थियो। यद्यपि यो तथ्यांक बालबालिकामाथि हुने यौन दुर्व्यवहारको मात्र नभई FBI को संशोधित परिभाषाअन्तर्गत सबै उमेर समूहमा रिपोर्ट भएका बलात्कारसम्बन्धी तथ्यांक हो।
सन् २०२४ मा यो श्रेणीका अनुमानित घटना अघिल्लो वर्षको तुलनामा ५.२ प्रतिशत घटेका थिए।पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा पनि बलात्कारसम्बन्धी अनुमानित अपराध सन् २०२४ को तुलनामा ७.६ प्रतिशतले घटेको छ। तथापी अमेरिकामा बाल यौन दुर्व्यवहारलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा हेरिएको छ।



