
पेन्सिलभेनिया-हामी बच्चा हुँदा घरका ठूलाबडाले बोलेपछि चुपचाप सुन्ने संस्कार थियो। बुबाआमाले गरेको निर्णय नै हाम्रो निर्णय हुन्थ्यो। मन नपरे पनि प्रतिवाद गर्ने आँट हुँदैनथ्यो। किनकि हामीलाई सिकाइएको थियो, ठूलाको आदर गर्नु, उनीहरूको अनुभवमाथि विश्वास गर्नु र परिवारको मर्यादाभित्र बस्नु नै असल सन्तानको कर्तव्य हो। पुरानो भनाइ नै छ, “आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको।” यो भनाइले ठूलाबडाको अनुभव जीवनको महत्त्वपूर्ण मार्गदर्शन हो भन्ने बुझाउँथ्यो। हामी ७०, ८० र ९० को दशकमा हुर्किएको पुस्ता हौँ। त्यतिबेला आमाबुबासँग हामीलाई खाना खान कर गर्ने वा गृहकार्य गराउन पछिपछि लाग्ने समय थिएन। उहाँहरूको दिन खेतीपाती, अलैँची बारी, गाईवस्तुको हेरचाह, घाँसदाउरा र अन्नबाली भित्र्याउने काममै बित्थ्यो। हामी भोक लागे आफैँ खान्थ्यौँ, विद्यालयबाट फर्किएपछि आफैँ गृहकार्य गर्थ्यौँ र घरका सानातिना काममा पनि हात बटाउँथ्यौँ। हामीलाई कसैले आत्मनिर्भर बन्न भाषण दिएन। परिस्थितिले नै आत्मनिर्भर बनायो। “खाने मुखलाई जुँगाले छेक्दैन” भनेझैँ, इच्छा र अठोट भए अभावले पनि मानिसलाई अघि बढ्नबाट रोक्न सक्दैनथ्यो।
समय बदलियो। हामी हुर्कियौँ, अभिभावक बन्यौँ र आफ्ना बच्चाहरूलाई हामीले नपाएको स्वतन्त्रता दिन खोज्यौँ। उनीहरूको भावना दबाउन चाहेनौँ। उनीहरूका इच्छा सुन्न थाल्यौँ, रोजाइलाई सम्मान गर्यौँ र उनीहरूको खुसीका लागि आफ्ना धेरै चाहना त्याग्यौँ। तर यस क्रममा कहिलेकाहीँ हामी यति धेरै झुक्यौँ कि अभिभावक र सन्तानबीचको मर्यादाको सीमासमेत धमिलो हुन थाल्यो। हामी बच्चा हुँदा ठूलाको कुरा मान्ने संस्कृति थियो, तर हामी ठूला हुँदा बच्चाको कुरा मान्ने संस्कृति आयो। बीचको पुस्ता बनेका हामीले दुवैतिर सम्झौता गर्यौँ। सानो हुँदा आफ्ना इच्छाहरू दबायौँ र ठूलो भएपछि आफ्ना बच्चाका इच्छाहरू पूरा गर्न आफ्ना आवश्यकताहरू त्याग्यौँ। सायद हाम्रो पुस्ताको कथा नै यही हो। पहिले आज्ञाकारी सन्तान बनेर बाँच्यौँ, अहिले जिम्मेवार अभिभावक बनेर बाँचिरहेका छौँ। “आफू नमरी स्वर्ग देखिँदैन” भनेझैँ, हाम्रो पुस्ताले जीवनका दुःख, जिम्मेवारी र संघर्ष आफैँ भोगेर सिक्यो।
श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” अर्थात् मानिसको अधिकार कर्ममा छ, कर्मको फलमा मात्र होइन। हाम्रो बाल्यकाल पनि यही शिक्षाजस्तै थियो। हामी परिणामको चिन्ता गरेर बस्दैनथ्यौँ। आफ्नो काम, पढाइ र जिम्मेवारी पूरा गर्थ्यौँ। आमाबुबाले पनि कठिन परिश्रम गरेर परिवारप्रतिको आफ्नो कर्तव्य निभाउनुहुन्थ्यो। तर बच्चाको कुरा सुन्नु गलत होइन। उनीहरूलाई स्वतन्त्रता दिनु पनि आवश्यक छ। समस्या तब सुरु हुन्छ, जब स्वतन्त्रताको अर्थ अनुशासन नहुनु र माया गर्नुको अर्थ हरेक माग पूरा गर्नु ठानिन्छ। बच्चालाई बोल्ने अधिकार चाहिन्छ, तर सुन्ने संस्कार पनि चाहिन्छ। प्रश्न गर्ने स्वतन्त्रता चाहिन्छ, तर ठूलाको अनुभव र त्यागलाई सम्मान गर्ने चेतना पनि चाहिन्छ। “नानीदेखि लागेको बानी” जीवनभर रहन्छ। त्यसैले सानैदेखि सिकाइएको जिम्मेवारी, अनुशासन र सम्मानले नै बच्चाको भविष्य निर्माण गर्छ।
हामीले भोगेको कठोरता आफ्ना बच्चाले भोग्न नपरोस् भन्ने चाहना स्वाभाविक हो। तर जीवनका सबै कठिनाइबाट जोगाएर राख्दा उनीहरू जीवनसँग लड्न सिक्दैनन्। बच्चालाई सुविधा मात्र होइन, जिम्मेवारी पनि दिनुपर्छ। अधिकारसँगै कर्तव्य, स्वतन्त्रतासँगै अनुशासन र आधुनिकतासँगै संस्कार सिकाउनुपर्छ। “हुने बिरुवाको चिल्लो पात” भनिए पनि बिरुवालाई समयमै पानी, मल र उचित सहारा चाहिन्छ। त्यसरी नै बच्चाको प्रतिभासँगै सही मार्गदर्शन पनि आवश्यक हुन्छ। श्रीमद्भगवद्गीताको अर्को महत्त्वपूर्ण सन्देश छ, “उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।” अर्थात् मानिसले आफैँ आफ्नो उत्थान गर्नुपर्छ र आफूलाई पतनतर्फ लैजानु हुँदैन। बच्चालाई जीवनभर समातेर हिँडाउनुभन्दा आफैँ उभिन र आफ्नो बाटो बनाउन सक्ने बनाउनु अभिभावकको सबैभन्दा ठूलो जिम्मेवारी हो।
घरमा बच्चाको आवाज सुनिनुपर्छ, तर अभिभावकको आवाज हराउनु हुँदैन। सम्बन्ध डरमा होइन, प्रेम र पारस्परिक सम्मानमा टिक्नुपर्छ। अभिभावकले बच्चाको भावना बुझ्नुपर्छ र बच्चाले पनि अभिभावकको संघर्ष, अनुभव र त्याग बुझ्न सिक्नुपर्छ। परिवारमा कसैको जित र कसैको हार होइन। समझदारीको वातावरण आवश्यक हुन्छ। “एक हातले ताली बज्दैन” भनेझैँ, परिवार बलियो बनाउन अभिभावक र सन्तान दुवैको समान भूमिका हुन्छ। संस्कार भनेको बच्चालाई चुप लगाउनु होइन, सही र गलत छुट्याउन सिकाउनु हो। आधुनिक अभिभावकत्व भनेको बच्चाका हरेक कुरामा “हुन्छ” भन्नु पनि होइन। कहिलेकाहीँ प्रेमले अँगालो हाल्छ, कहिलेकाहीँ त्यही प्रेमले सही बाटो देखाउन “हुँदैन” पनि भन्छ। “अति सर्वत्र वर्जयेत्” अर्थात् कुनै पनि कुराको अति राम्रो हुँदैन। अत्यधिक कठोरता उचित होइन भने अत्यधिक छुट पनि बच्चाको हितमा हुँदैन।
हामीले अब दुई पुस्ताबीच सन्तुलन बनाउने बेला आएको छ। पुरानो पुस्ताको अनुशासन र नयाँ पुस्ताको स्वतन्त्रतालाई जोड्न सक्यौँ भने मात्र परिवार बलियो हुन्छ। बच्चाको कुरा सुनौँ, तर सही निर्णय गर्ने अभिभावकीय जिम्मेवारी नछोडौँ। उनीहरूलाई माया दिऔँ, स्वतन्त्रता दिऔँ, तर संस्कार, सम्मान र जिम्मेवारी पनि सिकाऔँ। किनकि असल भविष्य सुविधा मात्रले होइन, सही संस्कारले निर्माण हुन्छ।



