
ह्यारिसबर्ग पेन्सिलभेनिया-ह्यारिसबर्ग क्रियमाणा फाउन्डेसनको आयोजनामा भुटानी नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा, साहित्य, संस्कृति, इतिहास र समुदायका जीवन अनुभवसँग जोड्ने उद्देश्यले आयोजित वार्षिक कथा वाचन कार्यक्रम ‘सङ्गालो Reading for Resilience’ शनिबार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा दुई समूहमा विभाजित २४ जना बालबालिका तथा युवाले नेपाली भाषामा कथा वाचन गर्दै आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रमको मूल उद्देश्य अमेरिकामा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा पढ्न र बोल्न प्रोत्साहित गर्नुका साथै उनीहरूलाई आफ्नो समुदायको संस्कृति, इतिहास, संघर्ष र अघिल्लो पुस्ताका जीवन अनुभवसँग जोड्नु रहेको थियो। क्रियमाणा फाउन्डेसनका अध्यक्ष भरत तिम्सिनाको नेतृत्वमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मातृभाषाप्रति आकर्षित गर्नुका साथै समुदायसँगको सम्बन्ध अझ बलियो बनाउन ठूलो सहयोग पुर्याएको सहभागी तथा अभिभावकहरूले बताएका छन्।

यसपटकका कथाहरूको केन्द्रमा मनोरञ्जनभन्दा बढी इतिहास, विस्थापन, शरणार्थी जीवन, भाषा र पहिचानका गम्भीर विषयहरू समेटिएका थिए। कथाहरूले भुटान छोड्नुपर्दाको पीडा, देशविहीन बन्नुपरेको अवस्था, जेल जीवनका कठिन अनुभव, नेपालका शरणार्थी शिविरमा बिताएका वर्षहरू, अमेरिकामा पुनर्वासपछि बदलिएको जीवन र पुरानो तथा नयाँ पुस्ताबीच बढ्दै गएको भाषा तथा सांस्कृतिक दूरीजस्ता विषयलाई छोएका थिए।

यसले अमेरिकामा हुर्किरहेको नयाँ पुस्तालाई आफूले प्रत्यक्ष नभोगेको आफ्नै समुदायको इतिहास कथामार्फत बुझ्ने अमूल्य अवसर दिएको थियो। कार्यक्रमका केही प्रस्तुतिहरू विशेष भावुक बनेका थिए, जसमा आयुष धितालले भुटान छोडेर शरणार्थी जीवनतर्फ जानुपर्दाको पीडादायी यात्रा प्रस्तुत गरे भने आयुषा चापागाईंले जन्मभूमि भुटान छोड्दाको विछोडलाई आफ्नो प्रस्तुतिमा उतारिन्। त्यसैगरी दिप्सिका घिमिरेको प्रस्तुतिले जेल जीवनको यातना र पहिचानसँग जोडिएको संघर्षलाई समेटेको थियो भने अस्लेशा तिम्सिनाले दुई पुस्ताबीच देखिँदै गएको सोच, भाषा र जीवनशैलीको अन्तर उजागर गरिन्। दिव्या घिमिरेले प्रस्तुत गरेको कथामा भुटान छोड्ने क्रममा एक वृद्धले आफ्नो झोलामा जन्मभूमिको माटो र भुटानी नागरिकताको कागज बोकेर हिँडेको तथा लामो समय शरणार्थी शिविरमा बिताउँदा समेत ती वस्तुलाई पहिचानको चिनोका रूपमा जोगाएर राखेको मार्मिक प्रसङ्गले उपस्थित सबैलाई भावुक बनाएको थियो।

कार्यक्रमका २४ जना प्रतियोगीमध्ये पहिलो समूहमा सौगात तिम्सिना, आक्षण आचार्य, साइना खतिवडा, स्योन खतिवडा, प्रज्ञा गौतम, हिमांशी धिताल, आयुषा खतिवडा, आहान अधिकारी, सहस्रांशु सुवेदी, रोश्ना ओडारी, हिमाक्षी धिताल र रोशिल कोइराला रहेका थिए। दोस्रो समूहमा अस्लेशा तिम्सिना, आयुष धिताल, आयुषा चापागाईं, दिप्सिका घिमिरे, दिव्या घिमिरे, ग्रीष्मा तिम्सिना, जेसिका ढकाल, कौस्तुभ रिजाल, रेश्मा ओडारी, साइना गौतम, सृष्टिका ढकाल र तेजस्वी प्रधान सहभागी थिए। दुवै समूहका सहभागीले नेपाली भाषामा आत्मविश्वासका साथ कथा प्रस्तुत गरेका थिए।

प्रतियोगितालाई दुई उमेर समूहमा विभाजन गरी मूल्याङ्कन गरिएको थियो, जसअन्तर्गत प्रत्येक समूहमा प्रथम हुनेलाई ४०० डलर, द्वितीयलाई ३०० डलर र तृतीयलाई २०० डलर गरी दुवै समूहका छ जना विजेतालाई कुल १,८०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो। नगद पुरस्कारले प्रतिस्पर्धालाई उत्साहपूर्ण बनाएको भए पनि बालबालिकाले नेपाली भाषामा पढ्ने, बुझ्ने र सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नु नै कार्यक्रमको मुख्य उपलब्धि थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा पं. हेम धिताल, धर्मेन्द्र तिम्सिना, गङ्गा लामिटारे, निशा लीला, द्रौपदी प्रधान, मुस्कान बालम्पाकी, तिला आचार्य र टीका राम राई रहनुभएको थियो, जहाँ अर्जुन रसाइलीको स्थानमा धर्मेन्द्र तिम्सिनाले निर्णायकको भूमिका निभाउनुभएको थियो। सङ्गालोका लागि कथाहरू भरत तिम्सिना, गङ्गा लामिटारे, ओम घिमिरे, टीका ढुंगाना, विष्णु लुइँटेल, दिपेश चापागाईं, निशा लीला, गोविन्द हुमागाईं, द्रौपदी प्रधान, शेखर काकु, जे.एन. दाहाल, रिमेन आलोक, देवी तिम्सिना, पातलो अन्तरे, भक्त घिमिरे, मधु घिमिरे, देवी दाहाल दागाने र राम कार्कीलगायत लेखकहरूले तयार पार्नुभएको थियो, जसमा ‘झोले बाजे’, ‘देश गुमेको दिन’ र ‘भाषाको मलामी’ जस्ता भावुक कथाहरू समावेश थिए।

कवि तथा साहित्यकार पातलो अन्तरेको सहजीकरण र कुशल सञ्चालनमा अघि बढेको सो कार्यक्रमलाई HACC Central Pennsylvania’s Community College, Utz, समुदायका अगुवा तथा अभिभावकहरूले विशेष सहयोग गरेका थिए। कार्यक्रममा भुटानी समुदायका अगुवाहरू स्वतारा टाउनसिपकी कमिस्नर बिनिता पुरी राई, टीका ढुंगाना, तिलक निरौला, युवराज कोइराला तथा प्रकाश ढुंगाना लगायत थुप्रै सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूका लागि लन्चको समेत व्यवस्था गरिएको उक्त कार्यक्रमले समुदायबीच आपसी संवाद र सम्बन्धलाई अझ प्रगाढ बनाएको थियो।सङ्गालो’ केवल एउटा कथा वाचन प्रतियोगितामा सीमित नरहेर अमेरिकामा हुर्किएका बालबालिकाका लागि पुर्खाको इतिहास बुझ्ने र नेपाली भाषा जोगाउने एउटा बलियो सांस्कृतिक सेतुका रूपमा स्थापित भएको छ।










