नेपालको निर्वाचनमा विजयपछि बालेन र रविलाई भुटानका प्रधानमन्त्रीको शुभकामना

भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालमा हालै सम्पन्न निर्वाचनमा उल्लेखनीय जनसमर्थन प्राप्त गरेका रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले फागुन २१ मा सम्पन्न निर्वाचनमा जनताको व्यापक सहभागिता र लोकतान्त्रिक अभ्यासको सफलताप्रति खुशी व्यक्त गरेका हुन्।

प्रधानमन्त्री तोब्गेले आफ्नो सन्देशमा नेपालका मतदाताहरूले लोकतन्त्रप्रति देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै निर्वाचनलाई सफल बनाउन भूमिका खेलेकोमा सम्पूर्ण नेपाली जनतालाई पनि बधाई दिएका छन्। उनले नेपालमा सम्पन्न निर्वाचनले जनताको विश्वास र आकांक्षालाई झल्काएको उल्लेख गर्दै नयाँ नेतृत्वले देशको विकास र स्थायित्वका लागि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले आगामी दिनमा नेपाल र भुटानबीच रहेको मित्रवत सम्बन्धलाई अझ सुदृढ र घनिष्ठ बनाउन आफू सधैं तयार रहेको पनि बताएका छन्। दुई देशबीचको पारस्परिक सहयोग, समझदारी र सद्भावलाई अझ बलियो बनाउँदै अघि बढ्ने अपेक्षा व्यक्त गर्दै उनले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको कामना समेत गरेका छन्।

More From Author

पिट्सबर्गमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमसहित सम्पन्न

इनिशा विकको न्यायका लागि पथरी शनिश्चरेमा