
मोरङ, पथरी ।
मोरङको पथरी शनिश्चरे मा इनिशा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध सभा तथा प्रदर्शन गरिएको छ।
शनिबार पथरी बजारस्थित गोर्खा डिपार्टमेन्ट अगाडि आयोजित कार्यक्रममा स्थानीय युवायुवती, विद्यार्थी, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम पथरी जेसीज को मुख्य आयोजना तथा स्ववियु पथरी बहुमुखी क्याम्पस र नगर इसाई युवा समाज को सह–आयोजनामा सम्पन्न भएको हो।
विरोध सभामा बोल्दै सुमन कुरुम्बाङ ले इनिशा विकको घटनाले समाजमा बढ्दो महिला हिंसा र असुरक्षाको गम्भीर अवस्था उजागर गरेको बताउनुभयो। उहाँले पीडितलाई न्याय दिलाउन र यस्ता घटनाको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी नगर शिक्षा शाखा अधिकृत बिना मिश्र ले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाले समाजलाई लज्जित बनाएको भन्दै राज्यले यस्ता अपराधप्रति शून्य सहनशीलता अपनाउनुपर्ने धारणा राख्नुभयो।
भूमिका मगर (प्रधानाध्यापक, सुनाखरी माध्यमिक विद्यालय) ले बालिका र महिलाको सुरक्षा सुनिश्चित गर्न परिवार, विद्यालय र समाज सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले यस्ता घटनाको पुनरावृत्ति रोक्न सचेतना र कडा कानुनी कार्यान्वयन दुवै आवश्यक रहेको उल्लेख गर्नुभयो।
यसैगरी निर्मला भट्टराई, किर्तिका खनाल तथा सञ्चारकर्मी अर्जुन जम्नेली राई ले पनि घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्नुभयो।
प्रदर्शनका क्रममा सहभागीहरूले “हामी न्याय मागिरहेका छौं, दया होइन”, “हिजो निर्मला, आज इनिशा, भोलि को ?”, “सरकार कहिलेसम्म बलात्कार ?”, “ढिलो न्याय आधा अन्याय, बलात्कारीलाई तत्काल सजाय” जस्ता नारासहितका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। उनीहरूले महिलामाथि हुने हिंसाविरुद्ध कडा कानुनी व्यवस्था लागू गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरेका थिए।
कार्यक्रममा वक्ताहरूले समाजमा बढ्दो लैङ्गिक हिंसा र बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाको अन्त्यका लागि सरकार, सुरक्षा निकाय र समुदाय सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताएका थिए।
विरोध कार्यक्रमको संयोजन अहिका शंकर ले गर्नुभएको थियो। आयोजकका अनुसार पीडितलाई न्याय नदिलाएसम्म आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।



