
पेन्सिलभेनियाको स्क्र्यान्टन-अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित स्क्र्यान्टनमा नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो ‘दशैं–तिहार मेला २०२६’ आयोजना हुने भएको छ। भुटानीज कम्युनिटी अफ स्क्र्यान्टनको आयोजनामा हुन लागेको यस मेलाले नेपालीभाषी समुदायलाई एउटै स्थानमा भेला गराउँदै आपसी सद्भाव, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई अझ बलियो बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
मेला शनिबार, अक्टोबर १०, २०२६ का दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम Nay Aug Park, 500 Arthur Ave, Scranton, PA 18510 मा आयोजना हुने भुटानीज कम्युनिटी अफ स्क्र्यान्टनका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ।
दोस्रो संस्करणको यस मेलामा नेपाली संस्कृति र परम्परालाई झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिनेछ। विशेषगरी नेपाली सांस्कृतिक नृत्य, गीत–संगीत, विभिन्न सांस्कृतिक प्रस्तुति तथा लाइभ कन्सर्ट मेलाका प्रमुख आकर्षणका रूपमा रहनेछन्। नेपाली समुदायका कलाकार तथा प्रतिभाहरूले आफ्ना प्रस्तुति मार्फत नेपालको विविध भाषा, संस्कृति, कला र परम्परालाई प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
मेलामा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न प्रकारका नेपाली परिकार तथा खानाका स्टलहरू पनि रहनेछन्। विभिन्न विक्रेतामार्फत नेपाली स्वादका मौलिक तथा लोकप्रिय परिकारको स्वाद लिन सकिने भएकाले मेला खानाका पारखीहरूका लागि समेत विशेष आकर्षण बन्ने रहेको छ।
त्यसैगरी मेलामा नेपाली संस्कृति तथा परम्परासँग सम्बन्धित विभिन्न सांस्कृतिक सामग्री, उत्पादन तथा अन्य वस्तुका स्टलहरू पनि रहनेछन्। परिवारका सबै उमेर समूहलाई लक्षित गर्दै मनोरञ्जन तथा विभिन्न गतिविधिहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।त्यसरी नै बिभिन्न खानाका स्टल राख्ने व्यवसायीहरुको सिटी तथा स्टेटबाट प्रप्ता लाइसेन्स हुनु पर्ने छ।
दशैं–तिहारको अवसर पारेर आयोजना गरिने यस मेलाले विदेशमा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ। विशेषगरी बालबालिका तथा युवापुस्तालाई नेपाली संस्कृति, कला, संगीत र चाडपर्वसँग जोड्ने अवसरका रूपमा पनि यस कार्यक्रमलाई हेरिएको छ।
मेलालाई सफल बनाउन विभिन्न दाता, व्यवसायी, संघसंस्था तथा समुदायका सदस्यहरूले आर्थिक तथा अन्य सहयोग प्रदान गरिरहेको आयोजकले जनाएको छ। समुदायको निरन्तर साथ, सहयोग र सहभागिताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै भुटानीज कम्युनिटी अफ स्क्र्यान्टन (BCS) ले सम्पूर्ण सहयोगदाता, स्वयंसेवक, कलाकार, व्यवसायी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।



