
पेन्सिल्भेनिया-पेन्सिल्भेनिया राज्यका गभर्नर जोश शापिरोले देशभर आप्रवासन तथा कस्टम प्रवर्तन (ICE) को गतिविधि बढिरहेको सन्दर्भमा आप्रवासी समुदायलाई लक्षित गर्दै “Know Your Rights” अर्थात् “आफ्ना अधिकार जान्नुहोस्” सम्बन्धी जानकारी विभिन्न भाषामा सार्वजनिक गरेका छन्।
हाल देशका विभिन्न भागमा ICE को कार्यवाही तीव्र भइरहेको अवस्थामा आप्रवासी समुदायमा डर, अन्योल र गलत सूचनाको जोखिम बढेको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै गभर्नर शापिरोको कार्यालयले आप्रवासीहरूलाई उनीहरूका कानुनी अधिकारबारे स्पष्ट, भरपर्दो र सहज रूपमा बुझ्न सकिने जानकारी उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
उक्त सामग्रीमा ICE सँगको सम्भावित भेटका बेला व्यक्तिले के गर्ने, के नगर्ने, वकिलसँग सम्पर्क गर्ने अधिकार, मौन बस्ने अधिकार, र घर वा कार्यस्थलमा प्रवेश गर्दा कानुनी प्रक्रिया कस्तो हुनुपर्छ भन्ने विषयहरू समेटिएका छन्। यी जानकारीहरू अंग्रेजी मात्र होइन, स्पेनी, नेपालीसहित विभिन्न समुदायले बोल्ने भाषाहरूमा उपलब्ध गराइएको छ, जसले भाषा अवरोधका कारण अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्य राखेको छ।
गभर्नर शापिरोले सबै पेन्सिल्भेनियावासी—कानुनी स्थिति जे भए पनि—सुरक्षा, मर्यादा र कानुनी प्रक्रियाको सम्मान पाउने हकदार भएको उल्लेख गर्दै राज्य सरकारले डरको वातावरण सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आप्रवासी समुदायलाई अफवाहमा विश्वास नगर्न, आधिकारिक स्रोतबाट जानकारी लिन र आवश्यक परे कानुनी सहयोग खोज्न आग्रह गरेका छन्।
समुदायका अगुवाहरू र मानव अधिकारकर्मीहरूले यस पहललाई समयसापेक्ष र महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार, बहुभाषिक “Know Your Rights” सामग्रीले आप्रवासी समुदायलाई सशक्त बनाउने, गलत सूचनाबाट जोगाउने र कानुनी रूपमा सुरक्षित रहन सहयोग पुर्याउनेछ।

162 पटक हेरिएको 
