
अमेरिकाको भर्जिनिया राज्यस्थित एक नेपाली परिवारमा सोमबार बिहान भएको हिंसात्मक घरेलु घटनाले समुदाय स्तब्ध बनेको छ। घटनामा आमा र छोरीको ज्यान गएको छ भने शंकास्पद आक्रमणकारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिँदै मृत घोषित गरेको छ।
फेयरफ्याक्स काउन्टी प्रहरी विभाग का अनुसार बिहान करिब ५:१५ बजे Mantua क्षेत्रमा आएको आपतकालीन फोनपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यहाँ पुगेपछि प्रहरीले ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी पत्नी बिन्दा थापा र छोरी ममता थापामाथि धारिलो हतियारले आक्रमण गरेको अवस्था फेला पारेको जनाएको छ। दुवै महिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरी प्रमुख केभिन डेभिस का अनुसार प्रहरी पुग्दा आक्रमणकारीको हातमा रगत लागेको हतियार थियो। “हतियार छोड्न पटक–पटक चेतावनी दिइए पनि उनले नमानेपछि प्रहरीले गोली चलाउन बाध्य भयो,” उनले बताए। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।
यसै क्रममा थापाले आफ्ना ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि पनि आक्रमण गरेका थिए। गम्भीर घाइते बस्नेत हाल अस्पतालमा उपचाररत छन्। उनी बिरटनगर घर भएका हुन्।
मृतक ममता र बस्नेतका एक वर्षे छोरालाई भने कुनै चोट नलागी सुरक्षित अवस्थामा उद्धार गरिएको छ। बालकलाई संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।
परिवारका निकट स्रोतका अनुसार थापा हालै स्थायी बसोबास अनुमति प्राप्त गरी छोरीको घरमा बस्दै आएका थिए। उनी Belaka Municipality का बासिन्दा हुन्। उनी लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी उपचारमा रहेको जानकारी पनि बाहिरिएको छ।
घटनापछि परिवारका अन्य सदस्यहरूको खोजी तथा सम्पर्कको प्रयास भइरहेको छ। वासिङ्टन डीसीस्थित नेपाल दूतावास ले घटनाप्रति दुःख व्यक्त गर्दै आफन्तहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ र समुदायसँग समन्वय गरिरहेको जनाएको छ।

487 पटक हेरिएको 

