
स्क्रेन्टनमा, पेनसिलभेनिया — भुटानी समुदाय स्क्रेन्टन (बीसीएस) ले यस वर्षको तिहार पर्वलाई विशेष र भव्य बनाउन देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी अक्टोबर १९, २०२५, आइतबार दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म यो कार्यक्रम मेरीउड विश्वविद्यालय (Marywood University) को नाजारेथ विद्यार्थी केन्द्र (Nazareth Student Center), 1300 University Ave, Dunmore, PA 18509 मा सम्पन्न हुनेछ।
तिहारलाई प्रकाश र एकताको पर्वका रूपमा मनाइन्छ। नेपाल र भुटानी समुदायमा यो पर्वको मुख्य आकर्षण नै देउसी–भैलो हो, जहाँ गीत, नृत्य, आशीर्वाद र खुशीको आदान–प्रदानमार्फत समुदाय एकत्रित हुन्छ। यही परम्परालाई जीवित राख्दै स्क्रेन्टनमा बसोबास गर्ने भुटानी समुदायले यस वर्ष यो कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग अझ नजिक ल्याउने अपेक्षा गरिएको छ। साथै, फरक पृष्ठभूमिका स्क्रेन्टन बासिन्दा, विविध जातजाति तथा संस्कार–संस्कृति मान्नेहरूलाई हाम्रो संस्कृतिको परिचय दिने अवसर पनि यसले उपलब्ध गराउनेछ।
यस कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, तिहारसँग सम्बन्धित लोकगीत र नृत्य, सामूहिक देउसी–भैलो प्रदर्शन, साथै समुदायका कलाकारहरूको विशेष प्रस्तुतिहरू रहनेछन्। सहभागीहरूले नेपाली संस्कृतिको गहिरो स्वाद मात्र अनुभव गर्ने होइन, तिहारले बोकेको एकता, समृद्धि र आत्मीयताको सन्देश पनि आत्मसात गर्ने अवसर पाउनेछन्।
भुटानी समुदायका लागि आफ्ना मौलिक चाडपर्व अमेरिकामा समेत मनाउन पाउनु गौरवको विषय भएको आयोजक समितिले जनाएको छ। केही हप्ता अगाडि मात्र भुटानी समुदाय स्क्रेन्टनले दशैँ–तिहार मेला आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको थियो। यसपटकको तिहार विशेष देउसी–भैलोले सो मेलाको निरन्तरता दिनेछ र प्रवासी जीवनमा संस्कृति जगेर्नाको अर्को महत्त्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ।