
पेन्सिलभेनिया-स्वभाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्धनको मलिलो धरातलमा उम्रिएको एउटा पृथक् नाम हो नारद आचार्य ‘सुदामा’। उनी साधारण व्यक्तित्व मात्र हैनन । उनी देश, काल र परिस्थितिसँग जुध्दै समयको साक्षी बनेका सांस्कृतिक सिपाही हुन्।
वौद्ध धर्मावलम्बीहरूको दोस्रो राजधानी मानिएको मुलुक र वैष्णव श्रीसम्प्रदायका धुरीहरूले समाधि लिएको तपोभूमिमा सालनाल रोपिएको सौम्य र सुरम्य गाउँमा एउटा कलिलो बीउ टुसायो त्यो बीउ आज उदयमान् रवि झै सुदामाका रूपमा चम्किरहेको छ।
इतिहासको आगोमा होमिएको भाषा र मानिसको सम्बन्ध साच्चै गहकिलो र तेजस्वी हुन्छ नै । सन् १९५८ मा धिउ तेल कपास मुसेर तयार पारिएको जनगणनाको पुल्ठो, १९८८ मा हनुमानको पुच्छरमा बाँधिएर इतिहासको भीरबाट खसालियो। १९९० मा नेपाली भाषा चरू बनेर आगोमा होमिन पुगिन । बस्ती खरानी बन्यो, आँखाबाट झरेको वर्षाले आगो निभाउन सकेन। त्यही हुन्डरीमा केही थान तरूण घाम गोधूली साँझसँगै नदीनालासँग आलापविलाप गर्दै मौन बने। न बोलियो, न सुनियो, न देखियो। समय छिपिँदै गयो असुरहरू बलिया हुँदै गए।
त्यही अँध्यारोबाट “सुदामा ” शरणार्थी बनेर पलायन भए आफु जन्मिएको तपोभूमिबाट । “बर्मा गए कर्मसँग, नेपाल गए कपालसँग” भनेझैँ नेपालको तीर्थ मानिने माई नदीको किनारमा पुनः टुसाए “सुदामा” । त्यो अटल पहाडको छातीमा भेष उस्तै थियो, बोली उस्तै, मान्छे उस्तै तर फरक थियो त केवल मौसम तरै पनि ” सुदामा” जिन्दगीसँग हारेनन्। पहाडजस्तै अडिग रहे। कलिलो मस्तिष्कले कलम र कापीलाई सहयात्री बनायो। शान्ति अभियानमा परेवाजस्तै आकांक्षा उडाए। संघर्षको यात्रामा कहिले असुर त कहिले भगवानको आड पाए।
साँझ बिहान् हातमुख जोड्न कठिन थियो तर मन विचलित भएन।
कहिले जलप्रवाह छेउ बसेर सृजनासँग जीवनका उकालो ओरालो गन्थे त कहिले भविष्य सम्झेर बिस्तारै मन बुझाउथे । फाटेको खेत, झरना, हिमाल र पहाडसँग सृजनाको लत लागेको पत्तै पाएनन् “सुदामा” लाई । श्रम र सृजनाको दीर्घ यात्रा तयार गरिहाले “सुदामा” ले ।
नेपालमा (१९९०–२००५) माईधार र गोलधाप शरणार्थी शिविरमा उनले श्रमलाई साधना बनाए। LWF, रेडक्रस, BRAVVE जस्ता संस्थामा शिविर व्यवस्थापन सहयोगीदेखि साहित्य चौतारी, बाल सौगात भित्तेपत्रिकाको सह–सम्पादन, नेपाली साहित्य प्रचार समिति सिलिगढीको प्रचार–प्रसार सचिवसम्म उनको यात्रा श्रम, सेवा र शब्दको संगम बन्यो।
सन् २०१२ मा एटलान्टा, जर्जियामा अर्को सूर्य उदायो।
आकाश फरक थियो तर “सुदामा” को मनमा संस्कार, भाषा र धर्मसंस्कृतिका दीपहरू अटल रूपमा उज्याला थिए।
अमेरिकामा उनले सन् २०१४ मा मातृभाषा संरक्षण समूह स्थापना गर्न काध हाले । एट्लान्टा जोर्जियामा विष्णु पाञ्यान मन्दिरको अध्यक्ष बने साथै त्रिवेणी साहित्य मञ्च पेन्सिलभेनियामा सञ्चार नेतृत्व सम्हाले र मञ्च कै सचीव पदमा विराजमान भएर हाकिरहे साहित्यको तेज गतिको गाडी ।
नेपाल र भूटानका थुप्रै साहित्यिक संस्थाहरूमा आजीवन सदस्यता,
पत्रकारिता, भाषा, आचारसंहिता, मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी तालिम,पुलिस अकादमीबाट दीक्षित भई सामान्य कानुन बुझेका सचेत नागरिक यी सबै उनको बहुआयामिक पहिचानका तहहरू हुन्। हाल उनी अमेरिकाको पेन्सिलभेनिया राज्री अन्तरगत हेरिस्वर्ग शहरमा आफ्ना दुई कलिला कोपिलालाई जीवनको रथका पाङ्ग्रा बनाउँदै घामजूनसँगै जिविकोपार्जन गरिरहेका छन्।साथै हिन्दू धर्म तथा सांस्कृतिक संगठन अमेरिकाको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्षका रूपमा सेवा गरिरहेका छन् । पत्रकारिता रंग उनको रौँ रौँ मा छ । सन् २०२१ देखि नै भूटान खबरमा आबद्ध भएर चुपचाप काम गरिरहेका छन् “सुदामा “।
नारद आचार्य ‘सुदामा’ थकानलाई बास बस्न नदिने वृक्षका हाँगाझैँ स्वाभिमानी छन्। उनका सपनाहरू जलेनन्, आकांक्षाहरू समीरले उडाएन। उनी आज पनि चुपचाप पैताला सार्दै अग्निपथको यात्रा अटुट गरिरहेछन्। भाषा, साहित्य र संस्कृतिको मशाल बोकेर निरन्तर दौडिरहेका “सुदामा” लाई भूटान खबरले गत हप्ता सक्रिय संवाददाताको रुपमा चयन गरेको छ । भुटान खबर अमेरिकाको कानून अन्तर्गत अनलाइन मिडियाका रुपमा सञ्चालनमा छ। उहाँ भूटान खबर ढट कम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

169 पटक हेरिएको 

