
अमेरिका-अमेरिकामा दुई जना नेपाली युवक गम्भीर आपराधिक अभियोगमा पक्राउ परेका छन्। छुट्टाछुट्टै घटनामा उनीहरूमाथि आर्थिक ठगी तथा बाल यौन शोषणजस्ता गम्भीर अपराधको आरोप लगाइएको छ।
टेनेसी राज्यको पुटनाम काउन्टीमा बस्दै आएका ३० वर्षीय तुल्सी तिम्सिनालाई ७० वर्षीय वृद्ध दम्पतीलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार पीडित दम्पतीबाट करिब २ लाख ६८ हजार अमेरिकी डलर ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीमाथि ज्येष्ठ नागरिकको आर्थिक शोषणको अभियोग लगाइएको छ र अदालतले २ लाख अमेरिकी डलर धरौटी तोकेको छ।
यस्तै, नर्थ क्यारोलिनामा बस्दै आएका २० वर्षीय प्रसन नेपाल उर्फ ‘ट्रिप्पी’लाई अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जाल ‘७६४’सँग संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ। अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का अनुसार उनले ‘७६४ इन्फर्नो’ नामक उपसमूहको नेतृत्व गर्दै १३ वर्षसम्मका बालबालिकामाथि यौन शोषण गर्ने, भिडियो सामग्री उत्पादन तथा वितरण गर्ने कार्यमा संलग्न रहेको आरोप छ। अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावाससम्मको सजाय हुनसक्ने बताइएको छ।
यी दुवै घटनाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमा ठूलो चासो र चिन्ता उत्पन्न गरेको छ। अमेरिकी अधिकारीहरूले कानुन उल्लङ्घनमा संलग्न जो कोहीलाई कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।

2389 पटक हेरिएको 

