नेपाली भाषी बालबालिकाका लागि त्रि–दिवसीय सांगीतिक कार्यक्रमको आयोजना

पिट्सबर्ग, अमेरिका —
सोलो जेनिथ टेक्नोलोजी तथा भुटानी एसोसिएसन म्युजिक अमेरिका (BAMA) को संयुक्त आयोजनामा नेपाली भाषी बालबालिकाका लागि विशेष त्रि–दिवसीय सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। किड्स प्रस्तुति मञ्च(KPS) नाम दिइएको उक्त कार्यक्रम सन् 2026 अप्रिल 3 मा पिट्सबर्ग, अप्रिल 4 मा एक्रोन (Akron) र अप्रिल 11 मा ह्यारिसबर्ग (Harrisburg) मा भव्य लाइभ प्रस्तुतीसहित सम्पन्न हुने Bhutanese News लाई जानकारी गराइएको छ।

आयोजक संस्थाका अनुसार नेपाली भाषी समुदायमा विभिन्न सांगीतिक कार्यक्रमहरू हुँदै आए पनि नेपाली बाजा बजाउने र गायन दुवै क्षेत्रमा बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गर्ने पर्याप्त अवसर नपाएको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम अगाडि ल्याइएको हो।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली भाषी बालबालिकालाई गीत–संगीतमार्फत आफ्नै समाज, भाषा र संस्कृतिप्रति जागरुक गराउनु रहेको आयोजकले बताएका छन्। उक्त सांगीतिक कार्यक्रममा ६ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरूले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्।

आयोजक समितिका अनुसार कार्यक्रममा जम्मा ६ वटा प्रत्यक्ष सांगीतिक समूह सहभागी हुनेछन्। जसअन्तर्गत पिट्सबर्गबाट ४ समूह, एक्रोनबाट १ समूह र ह्यारिसबर्गबाट १ समूह रहनेछन्। यी समूहहरूले कार्यक्रमलाई मनोरञ्जनात्मक र प्रेरणादायी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत नव–उदाउँदा नेपाली गीत–संगीतका बाल कलाकारहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्नु पनि प्रमुख लक्ष्य रहेको आयोजकले जनाएका छन्।

उक्त कार्यक्रमका लागि प्रवेश शुल्क २० डलर तोकिएको छ। आयोजकले नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई बाल प्रतिभालाई उत्साह र समर्थन प्रदान गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार