
लुइसभिल, केन्टकी — नेपाली भाषी समुदायले यस वर्षको सबैभन्दा ठूलो सांस्कृतिक तथा धार्मिक पर्वलाई स्मरण गर्दै दशैं–तिहार मेला २०२५ आयोजना गर्ने तयारी गरेको छ। मेला सेप्टेम्बर २७, २०२५ शनिबार, बिहान ८ बजे देखि साँझ ६ बजेसम्म लुइसभिलस्थित न्युबर्ग पार्क, ५००८ ई इन्डियन ट्रेल, लुइसभिल, KY 40218 मा हुने भएको छ।
यस मेलाले लुइसभिल र आसपास बसोबास गर्ने नेपाली भाषी समुदायलाई एकै ठाउँमा ल्याई नेपाली संस्कृति, परम्परा र एकताको सुन्दर झलक प्रस्तुत गर्नेछ। मेलामा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू, भव्य संस्कृतिक याली, रमाइलो लिङ्गे पिङ, आकर्षक फोटोबुथ र पूजापाठ गर्न सकिने वर्शिप बुथ जस्ता विशेष आकर्षणहरू रहनेछन्। साथै, मेलामा राखिने राफल टिकेट ड्र’ मा सहभागी हुनेहरुले विशेष पुरस्कार स्वरूप खसी जित्ने अवसर पनि पाउनेछन्, जसले मेलालाई अझै रमाइलो र यादगार बनाउने अपेक्षा गरिएको छ।
मेलामा स्वादिष्ट र परम्परागत नेपाली परिकारहरू विशेष आकर्षण हुनेछन्। सहभागीहरूले मोमो, सेल रोटी, चट्पटे, सेकुवा, पानीपुरी, चाउमिन लगायतका परिकारको स्वाद लिन सक्नेछन्। खाद्य परिकार मात्र नभई कला–साहित्य, हस्तकला, गहना तथा लुगा–कपडाका स्टलहरू पनि राखिनेछन्। साथै स्वास्थ्य, शिक्षा र जानकारी सम्बन्धी बूथहरूले पनि समुदायलाई आवश्यक सहयोग र सूचना उपलब्ध गराउनेछन्।
यस वर्षको मेलामा विशेष गरी बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई लक्षित गरी रमाइला खेलकुदका कार्यक्रमहरू राखिएका छन्। बालबालिकाले बलुन पप, बोरा दौड, पुरस्कार चक्र, रिङ टस जस्ता रमाइला खेलमा सहभागी हुनेछन् भने वयस्क तथा समूहले टग अफ वार (दोरी तान्ने खेल), बिङ्गो, कर्न होल, पासा खेल लगायतका सामुदायिक खेलमा रमाउन सक्नेछन्।
मेलाको आयोजना बीएसकेको नेतृत्वमा गरिएको हो र यसलाई सफल बनाउन विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका छन्। मेलामा युनाइटेड स्टेट्स भुटानीज सोसाइटी अफ केन्टकी, नेपালি कल्चरल सोसाइटी अफ केन्टकी, किरात राई यायोख्खा अमेरिका, तामाङ बुद्धिस्ट सोसाइटी अफ केन्टकी तथा आरजे साउण्ड एन्ड इभेन्ट्स लगायतका संस्थाहरूले सहकार्य गरेका छन्।
आयोजक समितिले मेलाको जानकारी तथा व्यापारिक बूथ दर्ता गर्न इच्छुकलाई ५०२–३५६–९६८९, ६१५–५७८–४१०७ वा ३१९–३२०–८६२५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
यसपटकको दशैं–तिहार मेलाले नेपाली भाषी भुटानी तथा नेपाली प्रवासी समुदायलाई मात्र नभई यहाँका बहुसांस्कृतिक पृष्ठभूमिका स्थानीय अमेरिकी समुदायलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। मेलाले नेपाली संस्कृतिको विविधता, समुदायबीचको एकता र आपसी सद्भावलाई प्रवर्धन गर्दै लुइसभिलमा एउटा ऐतिहासिक अवसरको रूपमा दर्ज हुनेछ भन्ने विश्वास लिइएको छ।