
लेन्कास्टर पेनसिलभेनिया — ड्रीम सपोर्ट फाउन्डेसन अफ यूएसएले यस वर्ष दशैं र तिहारको अवसरलाई विशेष बनाउँदै “दशैं तिहार धमाका” शीर्षकमा भव्य सांगीतिक साँझ आयोजना गर्ने भएको छ। नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं र तिहारलाई अमेरिका जस्तो बहुसांस्कृतिक भूमिमा समेत एकै साथ मनाउन सकियोस् भन्ने मुख्य उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो।
कार्यक्रम आगामी आइतबार, अक्टोबर ५, २०२५ का दिन दिउँसो १:३० बजेदेखि सुरु हुने छ। लेन्कास्टरमा आयोजना हुने यस सांगीतिक कार्यक्रमलाई भव्य र आकर्षक बनाउन तयारी भइरहेको ड्रीम सपोर्ट फाउन्डेसन अफ यूएसएका अध्यक्ष प्रेम बरालले जानकारी दिनु भएको छ। कार्यक्रममा नेपालको संगीत क्षेत्रमा व्यापक लोकप्रियता हासिल गरेका चर्चित गायक महेश काफ्ले, प्रतिभाशाली गायिका अस्मिता अधिकारी र युवा गायक नवीन खड्काको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध पार्ने रहेको छ।
ड्रीम सपोर्ट फाउन्डेसनले स्थापना भएदेखिनै समुदायमा शिक्षा, संस्कृति र सामाजिक सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ। यसपटकको दशैं–तिहार धमाकाले अमेरिकामा बसोबास गर्ने नेपाली भाषीहरूलाई आफ्नै संस्कार र परम्परासँग जोड्ने, नेपालीपनलाई जोगाउने र भावी पुस्तालाई सांस्कृतिक चेतना दिलाउने अपेक्षा लिएको छ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क राखिएको छ, जसले गर्दा सबै समुदाय सदस्यले बिना कुनै झन्झट उपस्थित भई रमाइलो गर्न सक्नेछन्।
दशैं र तिहारजस्ता महत्वपूर्ण पर्वले दिने एकता र खुशीलाई अमेरिकामा पनि उतिकै गरिमामय रूपमा अनुभव गर्न सकियोस् भन्ने अभियानको भागस्वरूप यो आयोजनालाई विशेष अर्थ दिइएको छ।नेपाली संस्कृतिको पहिचानलाई प्रवासमै जीवित राख्ने यो प्रयासमा आयोजक सबैको उपस्थिति अनिवार्य रहेको बताएका छन्।नेपाली गीत, संगीत, नृत्य र सांस्कृतिक अभिव्यक्तिले भरिपूर्ण यो विशेष कार्यक्रमले सहभागीहरूलाई आफ्नो मातृभूमि र संस्कृतिसँग पुनः जोड्ने अवसर दिनेछ।