बिसीए र बिएनसीसीले क्यानडामा नेपाली युवालाई छात्रवृत्ति

विन्डसर, ओन्टारियो — क्यानडामा अध्ययनरत भूटानी–नेपाली मूलका तीन जना प्रतिभाशाली विद्यार्थीहरूले स्थानीय सामुदायिक संस्थाबाट शैक्षिक छात्रवृत्ति प्राप्त गरेका छन्। बिसीए (Bhutanese Community of Windsor) र बिएनसीसी (Bhutanese Nepali Community of Chatham) ले संयुक्त रूपमा सञ्चालन गरेको “२०२५ छात्रवृत्ति कार्यक्रम” अन्तर्गत सेन्ट क्लेयर कलेजका नर्सिङ विद्यार्थी बरुण श्रेष्ठ, विन्डसर विश्वविद्यालयका कानून तथा राजनीतिशास्त्रका विद्यार्थी निकुन्ज आचार्य र सोही विश्वविद्यालयकी शिक्षा संकायकी विद्यार्थी प्रिया आचार्य लाई छात्रवृत्ति प्रदान गरिएको हो।

४०१ होम्स रियल्टीको विशेष सहयोग

छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीहरूले यसलाई आफ्नो भविष्य निर्माणका लागि ठूलो प्रेरणाको रूपमा लिएका छन्। निकुन्ज आचार्यले कानुनी क्षेत्रमा अध्ययनलाई अघि बढाउँदै समुदायको सेवामा जीवन समर्पित गर्ने आकांक्षा व्यक्त गरे भने, प्रिया आचार्यले शिक्षक बन्ने आफ्नो सपना अझ मजबुत भएको बताइन्। बरुण श्रेष्ठले नर्सिङ अध्ययनलाई सहज र आत्मविश्वासी बनाउन यसले ठूलो सहयोग गरेको अनुभव व्यक्त गरे।

कार्यक्रममा सामुदायिक संस्थाका प्रतिनिधिहरूले युवाहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्नु सामुदायिक विकासकै हिस्सा भएको धारणा व्यक्त गरे। बिसीए अध्यक्ष कृष अधिकारीले युवाहरूलाई प्रोत्साहित गर्न निरन्तर तत्पर रहने प्रतिबद्धता जनाए भने बिएनसीसी अध्यक्ष चुडा बाज्गाईले शिक्षा र समुदाय विकासमा संस्थाको सक्रियता निरन्तर जारी रहने उल्लेख गरे।

यस छात्रवृत्ति कार्यक्रममा ४०१ होम्स रियल्टी ब्रोकरेज को विशेष सहकार्य रहेको थियो। संस्थाका ब्रोकर अफ रेकर्ड बलराम काफ्लेले “With You All The Way” भन्ने भावनासहित समुदायसँगै रहन पाएको गौरव व्यक्त गर्दै शिक्षा नै समुदायको मूल आधार भएको बताए।

यो कार्यक्रमले भूटानी–नेपाली मूलका युवाहरूको शैक्षिक उपलब्धिलाई मात्र होइन, क्यानडामा नेपाली समुदायको बढ्दो उपस्थिति र योगदानलाई समेत उजागर गरेको छ। सहभागीहरूको भनाइमा, यस्ता शैक्षिक पहलहरूले युवालाई आत्मविश्वासी बनाउन, समुदायप्रतिको जिम्मेवारी बोध गराउन र उज्यालो भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार