ओहायो रेनोल्ड्सबर्गममा हुने मेलाको अन्तिम तयारी।

ओहायो रेनोल्ड्सबर्गम-दशैँ–तिहार मेला यस वर्ष पाँचौँ पटक भव्य रूपमा आयोजना हुने भएको छ। रेनोल्ड्सबर्ग नगर परिषद्का सदस्य भुवन प्याकुरेलको नेतृत्वमा हुने यो विशेष सांस्कृतिक कार्यक्रम आगामी अक्टोबर ४, २०२५ मा ह्युबर पार्कमा सम्पन्न हुने भएको छ। नगर परिषद्का सदस्य प्याकुरेलले यस पटकको मेलाबारे जानकारी दिँदै विगतका वर्षहरूको अनुभवलाई अझ सुदृढ बनाउँदै आकर्षक र व्यवस्थित कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको उल्लेख गर्नुभयो।

मेलाका संयोजक श्याम गौतमले विगतका वर्षहरू भन्दा यस पटकको तयारीलाई नयाँ र फरक ढंगले अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा सहभागी हुने समुदायको संख्या निरन्तर बढिरहेको छ र यस पटक अझ धेरै दर्शक तथा सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस वर्षको दशैँ–तिहार मेलामा भुटानी समुदायका विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै चर्चित नेपाली कलाकारहरूको विशेष प्रस्तुति पनि रहने छ। भुटानी समुदायका लोकप्रिय गायक किरण गजमेर, नेपालकी चर्चित गायिका एलिना चौहान, गायक प्रताप दास र लोक तथा दोहोरीका स्टार गायक बद्री पंगेनीले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मन्त्रमुग्ध पार्ने तयारी गरेका छन्। मेलाले भुटानी तथा नेपाली भाषी समुदाय मात्र नभई अन्य विविध सांस्कृतिक पृष्ठभूमिका स्थानीय बासिन्दा र प्रवासी समुदायलाई समेत नेपाली संस्कृति र परम्परासँग नजिकबाट जोड्ने अवसर दिने अपेक्षा गरिएको छ।

यस पटकको मेलामा २१ वटा फुड भेन्डर र १६ वटा अन्य भेन्डर सहभागी हुनेछन्, जसका कारण मेलामा जम्मा ७५ वटा स्टल रहनेछन्। त्यस्तै, करिब ११० जना भन्दा बढी प्रस्तुतकर्ताहरूले, जसमा विभिन्न समूहका नृत्यकलाकारहरू समेत हुनेछन्, आफ्नो प्रस्तुति दिनेछन्। संयोजक श्याम गौतमले भुटानीज न्यूजलाई जानकारी दिँदै यस वर्षको मेला समुदायको पहिचान, एकता र सांस्कृतिक गर्वलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मेलालाई सफल बनाउनका लागि विभिन्न संघ–संस्था र व्यवसायी गरी ३८ प्रायोजकको सहयोग प्राप्त भएको पनि संयोजक गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार