काठमाडौंमा जेन–जी प्रदर्शन : मृत्यु ८ पुग्यो, राजधानी तनावग्रस्त

काठमाडौं — सोमबार राजधानीमा भएको जेन–जी (Gen Z) आन्दोलन हिंसात्मक बन्दै गएपछि मृत्यु हुनेको संख्या ८ पुगेको छ। प्रहरीले गरेको बल प्रयोग र त्यसपछि प्रदर्शनकारीको प्रतिरोधका कारण काठमाडौं दिनभरै तनावग्रस्त बनेको छ।

प्रहरी स्रोतका अनुसार मृतकमध्ये पाँच जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा भएको छ भने दुई जनाको मृत्यु सिभिल अस्पतालमा भएको हो। यस्तै एक जनाको घटनास्थलमै ज्यान गएको पुष्टि भएको छ। मृतकको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट विशेष टोली खटिएको छ।

घटनामा ज्यान गुमाउने सबैलाई रबरको गोली लागेको पुष्टि भएको छ। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्याससँगै रबरको गोली प्रयोग गरेको थियो। तर, यसले उल्टै प्रदर्शनलाई अझै उग्र बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

दिउँसो साढे १२ बजेदेखि नै काठमाडौंका विभिन्न क्षेत्रहरूमा कर्फ्यू जारी गरिएको थियो। तर, कर्फ्यू हुँदाहुँदै पनि आन्दोलन रोकिएको छैन। प्रदर्शनकारीहरू नयाँ बानेश्वरलगायत विभिन्न क्षेत्रमा प्रहरीसँग ठोक्किँदै विरोध जारी राखेका छन्। यसै क्रममा थप घाइतेहरू अस्पताल भर्ना भइरहेका छन् भने घाइतेको वास्तविक संख्या अझै स्पष्ट हुन सकेको छैन।

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप निरन्तर भइरहेको छ। सडकमा टायर बालिएका छन्, ढुंगामुढा भएको छ र प्रहरीलाई समेत घाइते पुर्‍याइएको छ। राजधानीमा यातायात, पसल तथा सार्वजनिक गतिविधि ठप्प भएको छ।

यस घटनाले काठमाडौं मात्र नभई देशभरका युवाबीच थप असन्तोष र आक्रोश फैलाउने आशंका गरिएको छ। राजनीतिक दलहरूले भने तत्काल संयम अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार