म वर्गीय हिसाबले तेह्रथुम जिल्लाको एक आधारभूत श्रमजीवी वर्गको परिवारमा जन्मिएँ । श्रमजीवी किसान परिवारको भए पनि मेरा पिताजी परमानन्द दुलाल चेतनाको हिसाबले समाजमा अगाडि नै हुनुहुन्थ्यो। भौतारिँदै घुम्ने क्रममा बनारस पुगेर केही संस्कृत पढेर फर्किनुभएकाले शिक्षाको महत्वका बारेमा बुबा केही जानकार नै हुनुहुँदोरहेछ। त्यसैले गाउँमा शिक्षाको विकास गर्ने क्रममा गाउलेहरूसँग मिलेर एउटा विद्यालय आफ्नै गाउँ पौंठाकमा स्थापना गराउनुभयो । ।प्राईमरी स्कुल मात्रै भएकाले त्यहाँ ५ कक्षासम्म पढेर अगाडिको शिक्षाका लागि म शंकर हाईस्कुल जलजले गएँ ।
नेपाली कम्युनिष्ट आन्दोलन झांगिइरहेको त्यसबखतमा तेह्रथुमको जलजले क्षेत्रमा पनि वाम गतिविधिहरू चलिरहन्थे । पार्टी कमिटीहरू बनेर भूमिगत रूपमा जनचेतना प्रवाह भैरहेको थियो । कमिटीहरू भूमिगत थिए । पार्टी कमिटी र सेल्टरहरू बनेका थिए । आठराई क्षेत्रले त्यसको अगुवाइ गरिरहेको थियो। मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका पोष्टर र ब्याचहरू पनि पाइन्थे । रशियाको कम्युनिष्ट आन्दोलनका पुस्तकहरू, चाइना रिभ्युका साथै माओका राता किताबहरू पढ्न पाइन्थे।
विद्यार्थीहरूवीचमा पनि राजनीति पुगिसकेको थियो। म पनि वाम आन्दोलनबाट प्रभावित बनिरहेको थिएँ । ०२७ सालमा त्यहाँ नेकपाकै तीन सदस्यीय एउटा युनिट विद्यार्थी वीचमा बन्यो । टंक खड्का, म (किशोरचन्द्र दुलाल) र हस्त खड्का कमिटीमा संगठित भएका थियौं । त्यसबेला म कक्षा ८ मा पढ्थें ।
राजनीतिक गतिविधिहरू तेजले नै बढिरहेका थिए । आठराईको प्रतक्ष्य सम्पर्क र प्रभाव थियो। किसान आन्दोलन, शैक्षिक आन्दोलन एकपछि अर्को गर्दै बढिरहेका थिए ।
यसैवीच ०२९ सालको को झापा बिद्रोहको प्रभाव तेह्रथुममा पनि व्यापक पर्यो। विशेष गरी आठराई क्षेत्र निरंकुश तन्त्रको प्रहार भोग्न बाध्य भयो।आन्दोलनलाई अस्तव्यस्त पारियो । संगठन, सेल्टर, सम्पर्क सबै छिन्नभिन्न पारिए । धेरै कमरेडहरूलाई जेलनेल भोग्न वाध्य पारियो । त्यसपछि लामो समयसम्म तेह्रथुमको सम्पर्क व्यवस्थित हुन सकेन ।
पछि ०३४ सालदेखि ०३६ सालसम्म उच्च शिक्षा अध्ययन गर्न म धनकुटा बहुमुखी क्याम्पस गएँ । त्यहाँ अनेरास्ववियुको सदस्यता लिएर काम गरें।
यसै क्रममा ०३५ पुस ११ मा तत्कालीन नेकपा.(माले) को स्थापना भयो । तर, त्यसपछि पनि तेह्रथुमको सम्पर्क व्यवस्थित हुन सकेन । आठराईसहितको पूर्वी भेग ताप्लेजुङ र छथर सहितको पश्चिमी भेग धनकुटाबाटै हेर्न थालिए पनि पुराना सबै सम्पर्कहरू ब्यवस्थित हुन सकिरहेका थिएनन् । यसैवीच “सुधारिएको पञ्चायती व्यवस्था कि वहुदलीय व्यवस्था” भन्ने विषयमा आधारित भई जनमत संग्रहको घोषणा भयो।
यो जनमत संग्रहमा भाग लिने वा नलिने भन्ने विषयमा उपयुक्त समयमा नेकपा(माले)ले निर्णय लिन नसक्दा केही साथीहरू जनमत संग्रह बहिस्कार गर्नेतिर देखिए। त्यसबखत मैले भने पौंठाक गाउँपञ्चायतमा बहुदलको पक्षबाट एजेण्ट बसेरसमेत पक्षमा भाषण गरें । त्यसबेलासम्म आइपुग्दा म “प्रगतिशील लेखक कलाकार संघ” तेह्रथुमको जिल्ला तहको कमिटीमा बसेर सकृयतापूर्वक काम गरिरहेको थिएँ ।
मलार्इ ०३७ सालमा पार्टीले सम्पर्क गर्न मान्छे पठायो । सुनसरीका कमरेड ओम कोइराला नेकपा (माले) को सम्पर्क लिएर मकहाँ आइपुग्नुभयो। त्यसपछि २०४६ सालको जनआन्दोलन सम्पन्न नहुञ्जेलसम्म मैले भूमिगत रूपले काम गरें ।
तेह्रथुम जिल्लाको सम्पर्क व्यवस्थित गर्ने क्रममा कमरेड खगेन्द्र चुडाललाई पार्टीले तेह्रथुम पठाएको थियो । वहाँको अगुवाइमा शुरूमा पार्टी एक्टिभ ग्रुप (पीएजी) र त्यसपछि एरिया पार्टी एक्टिभ ग्रुप (एपीएजी) हुँदै जिल्लाव्यापी सम्पर्क व्यवस्थित भै सकेपछि डीपीएजी बनाएर हामीले पार्टी कामलाई अगाडि बढाउँदै गयौं । यी सबै कमिटीमा म कमरेड खगेन्द्र चुडालसँग संगठित हुँदै आएको हुँ ।