‘मोनिका ! आर यु अलाईभ ?’

  अशोक सिलवाल  91 पटक हेरिएको

बालाजु पुगेर खल्ती छाम्दा थाहा पाएँ, त्यो दिन म घरबाट मोबाइल नलिई निस्केको रहेछु । मोबाइल लिनैका लागि मात्र र्फकने जाँगर चलेन । दोमनलाई एक मन बनाउँदै सोचें, के नै इमरजेन्सी पर्ला र ?

बेलुका घर आएर मोबाइल हेर्दा भरतजीको नम्बरबाट मात्र २२ मीस्ड कल रहेछ ।

कलब्याक गरें ।

सुरुमा उनी निकै रिसाए । एकछिनमा अलि शान्त भएर पटकपटक कल गर्नुको कारण बताए, ‘आज साँझ सात बजे काठमान्डु झर्दै गरेकी स्वीस केटीको नेपालमा अरु केही डिमान्ड छैन, एउटा मात्रै उसको डिमान्ड भनेको पर्फक्ट गाइड हो रे । त्यसैले एकजना राम्रो गाइड खोज्देऊ भनेर टुर कम्पनीको साथी रबिनले भनेकाले मैले तपाईंलाई दर्जनौं पटक फोन गरेको । तपाईले उठाउनुभएन ।’

त्यसरी उनले मलाई सम्झनुको कारण मेरो पेशागत क्षमताभन्दा बढी मप्रतिको उनको स्नेह हो भन्नेमा मलाई कुनै शंका छैन ।

‘तर, पनि एकछिन पख्नोस् है’, भरतजीले यति भनेर फोन राखे ।

एक मिनेट पनि नपुग्दै फेरि फोन गरे ।

‘आजैदेखि चाहिने भएकाले अर्कै गाइड खोजेर गेस्टलाई रिसिभ गर्न एयरपोर्ट पठाइसकेछ’, विस्मात मान्दै उनले भने ।
त्यो च्याप्टर त्यहीँ बन्द भयो ।

केही दिनपछि फेरि भरतजीको फोन आयो । त्यसपटक पहिलो घन्टीमै उठाइदिएँ ।

‘ल भन्नोस् भरतजी ।’

‘त्यो विदेशी केटीलाई तपाईले भक्तपुर घुमाइदिनुपर्‍यो । ऊ ठमेलको मनाङ होटलमा बस्छे रे । बिहान नौ बजे नै पुग्नुहोला ।’

‘उसको नाम के हो ?’

‘मोनिका ।’

म ९ बजे होटल पुगें ।

ऊ मलाई नै कुरेर बसेकी रहिछ । ऊसँगै उसको अनुहारभरि बिहानको त्यति धेरै नछिप्पिएको चम्किलो घाम पनि थियो । घामले नै होला, उसको ब्वाइज कट कपाल पनि अनुहार जसरी नै चम्किएको थियो । कपालमाथि उसले कालो चश्मा भिरेकी थिई । त्यो पनि त्यसरी नै चम्किएको थियो ।

‘हाई मोनिका । आइ एम योर गाइड फर टुडे’, मैले हात ऊतिर अगाडि बढाउँदै भनें ।

उसले पनि जुरुक्क उठेर हात दिई । तर, हातसँगै उसले मलाई हार्दिक मुस्कान पनि दिइसकेकी थिई ।

‘मैले सुरुमा उसलाई कसरी भेटिनँ ?’, त्यसको सबै कारण मैले ठमेलबाट भक्तपुर पुग्नुअघि नै बताइदिएँ । ऊ आश्चर्यमा परी ।

‘संयोगले हाम्रो भेट भएन र फेरि संयोगले हाम्रो भेट भयो’, उसले भनी ।

ऊ नेपाल आई । केही दिन नेपाल घुमेर एक हप्ताका लागि भुटान गइछ । त्यसपछि ऊ फेरि मात्र एक दिनका लागि नेपाल फर्केकी रहिछ । त्यसरी सोच्दै नसोचेको हाम्रो भेट भएको थियो ।

भक्तपुरका सुन्दर सम्पदाहरुबीच मोनिकासँग घुम्दै गर्दा मित्र गणेशजी पनि भेटिए । उनले भने, ‘तपाईको गेस्ट त गज्जबै रहिछ ।’
‘किन र ?’, मैले उनलाई सोधें ।

‘तपाईं र उसलाई मैले अघि निकैबेरदेखि देखेको थिएँ । तर, तपाईंले मलाई देख्नुभएको थिएन । तपाईंहरु निकै आत्मीय जस्तो देखिने गरी एकअर्कामा गफिँदै हिँडिरहनुभएको थियो’, कारण खुलाए झैं गरी गणेशजीले भने ।

उनले त्यति मात्र भनेनन्, ‘मेरो गेस्ट त झुर परेका छन् । दुईजना छन् । तर, कुनै भावना र रंग नभएका मेसिनजस्ता मानिस ।’

त्यति भन्दाभन्दै हामीले एकअर्काका गेस्टसँग पनि परिचय गर्‍यौं । उनीहरु मलेसियन जोडी रहेछन् । उमेरले मात्र होइन, जाँगरले पनि वृद्धजस्ता देखिन्थे । तर, गणेशजीले भनेजस्तो उनीहरु त्यति साह्रो निरसचाहिं लागेन मलाई ।

एक्लै यहाँ आएकी थिई मोनिका । पोल्यान्डकी मोनिका स्वीट्जरल्यान्ड बस्दिरहिछ । उनका श्रीमान स्वीटजरल्यान्डको स्वीस बैंकमा राम्रो पोजिसनमा छन् रे । ऊ पनि नामी वकिल रहिछ तर त्यो पेशाप्रति उसको असन्तुष्टि चर्को थियो । भन्दै थिई, ‘कालोलाई सेतो र सेतालाई कालो अनि सत्यलाई असत्य र असत्यलाई सत्य भनेर प्रमाणित गर्नुपर्ने काम मलाई निकै कठिन र अनैतिक लाग्यो । पछिल्लो दुई बर्षदेखि म यो पेशाबाट अलग भइसकेकी छु ।’

ऊ थप्दै थिई, ‘हिजोआज म गृहणी मात्र हुँ । तर, म यति मात्र कहाँ हुन सक्छु ? यस पटकको यो यात्रा मैले केवल आफैसँग हिँड्न गरेकी हुँ । आफैंलाई खोज्न गरेकी हुँ ।’

हामी हिँडदै गफियौं । गफिदैं हिँड्यौं । कति पटक भक्तपुरका साँघुरा गल्लीमा निकैबेर अडिएर हामी निकै गहिरा कुराहरु गरिरहेका थियौं । जीवनप्रति उसको बुझाई र व्याख्या सुनेर मलाई पनि म आफैभन्दा एक तहमाथि पुगे झैं भइरहेको थियो ।

न्यातपोल अगाडिको रेष्टुराको माथिल्लो तलाको बार्दलीमा बसेर उसले चाउमिन खाई । मैले स्प्राइट खाएँ । मैले भोक नलागेको बताएपछि नखानु नै ठीक भनेकी थिई उसले । तर, उसले चाउमिन खाँदै गर्दा मतिर काँटा फर्काउँदै ‘एक-दुई काँटा त खाउ’ भनेर कर गर्दै थिई ।

त्यसका लागि मैले उसलाई धन्यवाद दिदैं गफभन्दा बढी खानामा ध्यान देऊ भनें । तर, आधा घन्टामा पनि उसले एक प्लेट चाउमिन आधा पनि सिध्याएकी थिइन । नभोकाएर होइन । किनकि उसले भोक लाग्यो भनेपछि मात्र हामी रेस्टुरेन्ट गएका थियौं । तर, उसको भोक कता गएछ कुन्नि ?

उसले बुद्धबारे कुरा गरी । बुद्ध धर्मबारे होइन । ऊ बुद्धलाई पछ्याउन कति कठिन छ भनेर निकै पटक मसँगै पनि घोत्लिई । चाउमिन सेलाइरहँदा हामीमा भने भावनाको अनौठो तापमान बढ्दै थियो ।

हामीबीचको टेबल निकै सानो थियो । त्यसमाथि निकै नजिकिएर टाउको जोडौंला जसरी आँखामा आँखा जुधाउँदै हामी गफ गर्दै थियौं । मैले उसको तल्लो ओठमा आँखीभौंको एउटा रौं देखें । मैले उसको ओठ छोएँ । रौंलाई चोर औंलामा एकछिन अड्याइरहें । र, सुस्तरी फू गरेर उडाइदिएँ । उसले एक छिनसम्म मेरो औंला समाती रही ।

‘मानिसहरु जे छन्, त्यो देखाउँदैनन् । जे देखाउँछन्, उनीहरु त्यस्ता हुँदैनन्’, ऊ अझ बढी दार्शनिक झैं भई । यसो भनिरहँदा ऊ जीवनको कुन घटना सम्झदै थिई ? मैले सोधिनँ । तर, त्यसभित्र पक्कै केही थियो । ऊ बेलाबेला लामो लामो सास फेर्थी ।

‘ममी आर यु अलाईभ ?’, छोरीहरुले उसलाई त्यस्तो प्रश्न गर्छन् रे कहिलेकाहीँ । मेडिकल डाक्टर हुँदै गरेका दुवै छोरीले जीवन आफ्नै तरिकाले बाँचुन् भन्ने चाहन्छे ऊ । त्यसैले बेखबर आफू कतै देशहरुको यात्रामा निस्किने गरेको उसले बताई । ‘ता कि छोरीहरु पनि त्यसरी आफ्ना लागि आफै आफ्नो व्याकरण निर्माण गर्न सकुन् । मन लागेको काम गर्न सकुन् । स्वतन्त्रताको एउटा साहसिक र अनिश्चित जीवन बाँच्न सकुन् । त्यसले उनीहरुलाई भित्रैदेखि बलियो बनाउँछ’, उसले थपी ।

ऊ हिजोआज फेसबुक चलाउँदिनँ । किन त ? उसको अनुभव छ, ‘एउटी साथी थिई । ऊ फेसबुकमा यस्ती थिई, मानौं ऊभन्दा खुशी यो दुनियाँमा अरु छैन । तर, जब मैले उसलाई भेटें, उसले केवल आफ्ना दुखबारे कुरा गरी । त्यो दिनपछि … ।’
हो, त्यो दिनपछि उसले आफ्नो फेसबुक एकाउन्ट बन्द गरिदिई । साथीहरुले मेसेज गरे, ‘आर यु अलाईभ मोनिका ?’

तर, ऊ आत्मैदेखि जीवित प्राणी थिई । छुटि्टनुअघि होटलको कम्पाउन्डमा मलाई उसले निकैबेर कसिलो अंगालो मारिरही । काठमान्डुमा उसले हाम्रो अन्तिम तस्विर खिचाई ।

होटलको सेक्युरिटी गार्डले खिचिदिएको तस्विर स्विटजरल्यान्ड पुगेको केही घन्टामै उसले मेरो मेलमा पठाइसकिछ । मैले चाहिं त्यसलाई फेसबुकमा पोस्ट गरिदिएँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार