अञ्जिला’ फिल्मबाट उठेको रकम अञ्जिलाको घर निर्माणका लागि प्रयोग गरिने

काठमाडौं,

नेपाली महिला फुटबल टोलीकी कप्तान तथा चर्चित गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित फिल्म ‘अञ्जिला’ अाजबाट प्रदर्शन हुदै छ। निर्देशक मिलन चाम्स द्वारा निर्देशित यो फिल्म १३ मार्च २०२५ बाट नेपालभरका सिनेमा हलमा प्रदर्शन हुदै छ।

फिल्मले अञ्जिलाको संघर्ष, सपना, आत्मविश्वास र सफलताको कथा प्रस्तुत गर्नेछ। उनले सानो गाउँबाट अन्तर्राष्ट्रिय फुटबल मैदानसम्मको कठिन यात्रा तय गरेकी छन्। समाजका विभिन्न चुनौतीहरू सामना गर्दै नेपाली फुटबलमा पुर्‍याएको योगदानले उनलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाएको छ। विशेष कुरा के छ भने, यो फिल्मबाट उठेको आम्दानी अञ्जिलाको घर निर्माणका लागि खर्च गरिने घोषणा गरिएको छ।

निर्देशक मिलन चाम्सका अनुसार, “अञ्जिलाको सफलतामा योगदान दिन चाहने जो कोहीले यो फिल्म हेरेर उनलाई सहयोग गर्न सक्छन्। फिल्मबाट उठेको रकम उनको परिवारको बसोबासका लागि खर्च गरिनेछ।”

अञ्जिलाले हालै ग्रीसको ‘ए डिभिजन क्लब’ निस एट्रोमिटोससँग सम्झौता गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम चिनाइसकेकी छन्। यो फिल्म खेलकुद प्रेमीहरूका लागि मात्र नभई, महिला सशक्तिकरणको समर्थन गर्ने सबै नेपालीका लागि महत्वपूर्ण बन्नेछ।

फिल्ममा अञ्जिला आफैंले आफ्नो भूमिका निर्वाह गरेकी छन्, जसले कथालाई अझ वास्तविक बनाएको छ। साथै, दयाहाङ राई, सृजना सुब्बा, मिरुना मगर जस्ता चर्चित कलाकारहरूको अभिनयले फिल्मलाई थप रोचक बनाएको छ।

‘अञ्जिला’ मात्र एउटा फिल्म होइन, यो नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने प्रयास हो। अञ्जिलाको संघर्ष र सफलताको साक्षी बन्न तथा उनको परिवारलाई सहयोग गर्न यो प्रेरणादायी फिल्म हेर्न नछुटाउनुहोस्!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार