अमेरिकामा पहिलो युनिटी कप आयोजना, विजेतालाई आकर्षक नगद पुरस्कार

सिनसिनाटी,अमेरिकाको ओहायो राज्यको सिनसिनाटी सहरमा आउँदो जुन महिनामा पहिलो युनिटी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिनसिनाटी साम्बा र टेक्सास फुटबल क्लबको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले फुटबलप्रेमीहरू, खेलाडीहरू, र समुदायका सदस्यहरूलाई एक ठाउँमा ल्याउने लक्ष्य राखेको छ।

प्रतियोगिता जुन ७, २०२५ देखि सुरु हुनेछ, जसमा सहभागिता जनाउन प्रत्येक टिमलाई १,००० अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइनेछ। विजेता टिमका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। मुख्य विधामा विजेता टिमलाई १०,००० अमेरिकी डलर प्रदान गरिनेछ भने उपविजेता टिमले ४,५०० अमेरिकी डलर प्राप्त गर्नेछ।

यसैगरी, भेट्रान फुटबल प्रतियोगिताको विजेताले ५,००० अमेरिकी डलर पाउनेछ भने उपविजेतालाई २५,०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिनेछ।यो प्रतियोगितामा सिएटल, टेक्सास, कोलोरेडो, भर्जिनिया लगायतका विभिन्न स्थानहरूबाट टिमहरू सहभागी हुनेछन्। साथै, इङ्ग्ल्यान्डबाट समेत टोली आउने पुष्टि भएको छ, जसले प्रतियोगितालाई अझ अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार, यस प्रतियोगिताले समुदायको एकता र विविधतालाई सम्मान गर्नुका साथै, फुटबल खेलको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। स्थानीय व्यवसायहरूलाई समर्थन गर्दै, खेलकुदको माध्यमबाट समुदायमा सकारात्मक ऊर्जा भर्न यो प्रतियोगिता एक महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ। युनिटी कप केवल एक खेल प्रतियोगिता मात्र नभई, सामुदायिक सहभागिता र युवा खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण गर्न योगदान गर्ने एक ऐतिहासिक अवसर हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार