भूटानीहरु डिपोर्टको खतरामा, कंग्रेस जोए बेटीसँग भुवन प्याकुरेलको महत्वपूर्ण छलफल

ओहायो रेनोल्ड्सबर्ग,
पुनर्वासित भूटानी समुदाय अहिले गम्भीर संकटको सामना गरिरहेको छ। हालै, इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट (ICE) ले चार जना पुनर्वासित भूटानी नागरिकलाई पक्राउ गरेको छ, जसलाई ट्रम्प प्रशासनले भूटान डिपोर्ट गर्ने भन्दै अाईरहेको छ। यो घटनाले सम्पूर्ण भूटानी समुदायलाई गहिरो चिन्तामा पारेको छ, किनभने उनीहरूका लागि भूटान फर्किनु जीवन-मरणको प्रश्न बन्न सक्छ।

यस जटिल परिस्थितिमा ओहायोको रेनोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेल साथै युवाहरू श्याम गौतम, हरि अधिकारी र दीपक खट्यक कंग्रेस जोए बेटी सँग छलफल गरेका छन्। यस भेटवार्तामा प्याकुरेलले पुनर्वासित भूटानी नागरिकहरूको सुरक्षा र स्थायित्व सुनिश्चित गर्न अमेरिकी सरकारले आवश्यक कदम चाल्नुपर्ने माग राखेका छन्। उनले पक्राउ परेका व्यक्तिहरूको डिपोर्ट रोक्न पहल गर्न आग्रह गर्दै, पुनर्वासित भूटानी समुदाय कानुनी प्रक्रिया पूरा गरेर अमेरिका आएको र उनीहरूका लागि भूटान सुरक्षित गन्तव्य नभएको स्पष्ट पारे।

जोए बेटीले भूटानी समुदायको गहिरो चिन्ता सुनेपछि प्रशासनलाई यसबारे सचेत गराउने र आवश्यक कदम चाल्न दबाब दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले अमेरिकी सरकारले शरणार्थीका रूपमा आएका व्यक्तिहरूलाई सुरक्षित राख्नुपर्नेमा जोड दिँदै यस विषयमा गम्भीर अध्ययन गरेर आवश्यक कदम चाल्ने बताइन्।

भूटानी समुदायका नेताहरूले कंग्रेस बेटीसँगको छलफललाई सकारात्मक संकेतको रूपमा लिएका छन्। उनीहरूले सरकार र सम्बन्धित निकायहरूलाई पुनर्वासित शरणार्थीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेका छन्।

“हामी यहाँ कानुनी रूपमा आएका हौं, र अमेरिकालाई नै आफ्नो घर ठानेका छौं। अब हामीलाई डिपोर्ट गर्ने निर्णय अन्यायपूर्ण मात्र होइन, अमानवीय पनि हुनेछ,” भूटानी समुदायका एक नेताले भने।

यो संकट समाधानका लागि भूटानी समुदायका प्रतिनिधिहरूले कंग्रेस बेटी सहित अन्य निर्वाचित अधिकारीहरूसँग निरन्तर संवाद जारी राख्ने जनाएका छन्। साथै, उनीहरूले अमेरिकी सरकारले उनीहरूलाई उचित कानुनी सुरक्षा प्रदान गरोस् भन्ने अपिल गरेका छन्।

More From Author

अमेरिकामा पहिलो युनिटी कप आयोजना, विजेतालाई आकर्षक नगद पुरस्कार

अमेरिकी आर्मीमा मास्टर सर्जेन्ट पदमा पुगे भुटानी नेपाली डिल्लीराम दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *