भुटानीहरुको चार संस्थाहरुको संयुक्त वार्षिक सम्मेलन २०२६

अमेरिकाको ओमाहा, नेब्रास्कामा विश्वभर छरिएर रहेका भुटानी समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले ‘भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६’ आयोजना हुने भएको छ। सेप्टेम्बर ११ देखि १३ सम्म तीन दिन चल्ने सम्मेलन ग्रेट इभेन्ट्स सेन्टर, ७४४० क्राउन प्वाइन्ट एभिन्यू, ओमाहामा हुनेछ।

‘भुटानी हृदयहरूलाई एकताबद्ध गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै’ भन्ने नारासहित आयोजना हुन लागेको सम्मेलनलाई भुटानी समुदायको एकता, संस्कृति, पहिचान र नयाँ पुस्ताको सशक्तीकरणसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ।

ग्लोबल भुटानीज अर्गनाइजेसन (GBO), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (BAMA), ग्लोबल फाउन्डेसन अफ अमेरिका (GFA) र ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) को संयुक्त आयोजनामा हुने सम्मेलनको स्थानीय व्यवस्थापन भुटानीज कम्युनिटी इन नेब्रास्का (BCN) ले गर्नेछ। सम्मेलनका आयोजना संयोजक पतालो अन्तरे र कार्यक्रम संयोजक भीम गुरुङ रहेका छन्।

सम्मेलनमा नेपाल तथा अमेरिकाका चर्चित कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को लोकप्रिय प्रस्तुति ‘म त मर्छु कि क्याहो’ विशेष आकर्षणका रूपमा रहनेछ। साथै, संयुक्त सांगीतिक कार्यक्रममार्फत भुटानी समुदायका कलाकार तथा प्रतिभाहरूले आफ्नो प्रस्तुति दिनेछन्।

आयोजक संस्थाका अनुसार सम्मेलनमा शिक्षा, नेतृत्व विकास, स्वास्थ्य, सामाजिक सुरक्षा, संस्थागत सहकार्य, भाषा, साहित्य, संगीत तथा सांस्कृतिक पहिचानजस्ता विषयलाई प्राथमिकतामा राखिनेछ। नयाँ पुस्तालाई भाषा, साहित्य र संस्कृतिसँग जोड्दै समुदायको मौलिक पहिचानलाई आगामी पुस्तासम्म पुर्‍याउने विषयमा समेत विशेष छलफल हुने बताइएको छ।

सम्मेलनको पहिलो दिन, सेप्टेम्बर ११ मा विभिन्न स्थानबाट ओमाहा पुग्ने अतिथि तथा प्रतिनिधिहरूको स्वागतका लागि विशेष स्वागत समारोह तथा रात्रिभोज आयोजना गरिनेछ।

सेप्टेम्बर १२ मा संस्थागत बैठक, कार्यपत्र प्रस्तुति तथा विभिन्न सामुदायिक विषयमा छलफल हुनेछ। सोही दिन साँझ Joint Grand Musical Event आयोजना गरिनेछ, जहाँ संगीत र मनोरञ्जनसँगै भुटानी समुदायका विभिन्न प्रतिभाले आफ्नो कला प्रस्तुत गर्नेछन्।

सम्मेलनको अन्तिम दिन सेप्टेम्बर १३ मा भव्य भुटानी मेला आयोजना हुनेछ। मेलामा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, व्यवसायिक तथा सामुदायिक स्टल, प्रतिभा प्रदर्शनलगायतका गतिविधि समावेश गरिनेछन्। साँझ नेब्रास्कामा रहेका भुटानी महिलाहरूको विशेष सहभागितामा सांगीतिक तीज उत्सव आयोजना गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ।

देश तथा विभिन्न राज्यबाट सम्मेलनमा सहभागी हुन आउने अतिथि र प्रतिनिधिहरूका लागि स्थानीय आयोजक BCN ले आवश्यक आतिथ्य तथा व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ।

तीन दिनसम्म ओमाहामा हुने यो सम्मेलनले विश्वभर फैलिएको भुटानी समुदायबीच सम्बन्ध विस्तार, संस्थागत सहकार्य, सांस्कृतिक आदानप्रदान र भावी पुस्तालाई समुदायसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

More From Author

रोचेस्टरमा पहिलो अन्तरराज्यीय कप फुटबल प्रतियोगिताको अन्तिम तयारी

रोचेस्टर अन्तरराज्यीय कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *