नेपालका बाढीपीडितप्रति भुटानी नेपाली अमेरिकी समुदायको संयुक्त मानवीय अपिल

Screenshot

ओहाय—हामी यो धर्तीमा निश्चित समयका पाहुना मात्र हौँ। आज हाँसीखुसी छुट्टिएको व्यक्ति भोलि हामीमाझ नहुन सक्छ, र आज आनन्दसँग सुतेका हामी भोलि फेरि उठ्न नपाउन सक्छौँ। यही जीवनको कठोर सत्य हो। त्यसैले लोभ, लालच, रिस, डाह र ईर्ष्या राखेर, अरूको खुट्टा तानेर, कसैलाई नराम्रो देखाएर वा कसैको कुभलो चिताएर बाँच्नुको कुनै अर्थ छैन।

भविष्यका लागि बचत र योजना आवश्यक छन्, तर “आज कमाउँछु र थुपार्छु, भोलि मात्र रमाउँछु” भन्दै वर्तमानलाई खेर फाल्नु पनि उचित होइन। यो उमेर, समय, जोस र ऊर्जा फेरि फर्केर आउँदैनन्। त्यसैले भविष्य सुरक्षित बनाउँदै वर्तमानमा पनि बाँचौँ, प्रेम बाँडौँ, खुसी साटौँ र दुःखमा परेकाहरूको सहारा बनौँ।

नेपालमा आएको विनाशकारी बाढीले हामीलाई यही सत्य फेरि सम्झाएको छ। हाम्रा दाजुभाइ, दिदीबहिनी, आमाबुवा र छोराछोरी यसरी अचानक बिदा होलान् भन्ने कसैले कल्पना गरेका थिएनन्। परिवारहरूले आफ्ना प्रियजन, घर, सम्पत्ति, जीविकोपार्जन र भविष्यको भरोसा गुमाएका छन्। देशमाथि परेको यो शोकलाई शब्दमा व्यक्त गर्न कठिन छ।

हामी स्तब्ध छौँ। ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकसन्तप्त तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

नेपालसँग नेपालीभाषी भुटानीहरूको गहिरो र भावनात्मक सम्बन्ध छ। हामी आफ्नो जन्मभूमिबाट विस्थापित भएर अनिश्चित भविष्यतर्फ धकेलिँदा नेपालले आफ्नो भूमि र हृदय दुवै खोलेर हामीलाई आश्रय दिएको थियो। नेपाली भूमिमा हामीले सुरक्षा, शिक्षा, स्वास्थ्य सेवा र आशा पायौँ। हाम्रा सन्तान त्यहीँ हुर्किए र हाम्रा सपनाहरू त्यहीँ जीवित रहे।

झन्डै दुई दशकसम्म नेपाल हाम्रो शरणस्थल मात्र होइन, दोस्रो घर बन्यो। आज त्यही नेपाल संकटमा छ। नेपालले हामीलाई आवश्यक परेको समयमा साथ दिएको थियो; अब कृतज्ञतालाई व्यवहारमा उतार्ने पालो हाम्रो हो।

अमेरिकाभरिका भुटानी नेपाली सामाजिक, धार्मिक, सांस्कृतिक तथा गैरनाफामूलक संस्था, व्यवसायी, समाजसेवी र समुदायका अगुवाहरू एउटै साझा मानवीय अभियानमा जोडिएका छन्।

भुटानी कम्युनिटी अफ सेन्ट्रल ओहायो (बिसिसिओ) ले उपलब्ध गराएको साझा गोफन्डमी अभियानमा ग्लोबल भुटानीज हिन्दु अर्गनाइजेसन, श्री वैष्णव परिषद् अमेरिका, वैदिक वेलफेयर सोसाइटी अफ कोलम्बस, आर्यावर्त श्री निम्बार्क आध्यात्मिक केन्द्र, श्री कृष्ण, ग्लोबल पिपुल एलायन्स, ग्रेटर सिनसिनाटी भुटानी कम्युनिटी कोअर्डिनेसन, फिफ्टी स्टार्स युवा क्लब, भुटानी अमेरिकन हिन्दु सोसाइटी, युनाइटेड चर्चेस अफ सेन्ट्रल ओहायो, भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग, हिन्दु विश्वकर्मा कम्युनिटी यूएसए, बिसिसी, हिमालयन फाउन्डेसन यूएसए, पिस इनिसिएटिभ भुटान, दिव्य धाम रिलिजियस, स्पिरिचुअल एन्ड कल्चरल सेन्टर, हिरा र लिटरेचर काउन्सिल अफ भुटान लगायतका संस्थाहरूको सहभागिता रहेको छ।

संकलित सहयोग नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।

यो अभियान कुनै एक व्यक्ति, संस्था वा धर्मको होइन—यो सम्पूर्ण भुटानी नेपाली अमेरिकी समुदायको साझा मानवीय अभियान हो। यसको उद्देश्य कसैलाई चर्चित बनाउनु, संस्थाको प्रचार गर्नु, नेतृत्व प्रदर्शन गर्नु वा श्रेय लिनु होइन; विपत्तिमा परेकाहरूलाई सहयोग गर्नु हाम्रो एकमात्र प्राथमिकता हो।

त्यसैले सबै गैरनाफामूलक संस्था, धार्मिक संगठन, परोपकारी संस्था र समुदायका अगुवाहरूलाई एउटै उद्देश्यका लागि छुट्टाछुट्टै गोफन्डमी अभियान सुरु नगर्न विनम्र तर स्पष्ट अनुरोध गर्दछौँ।

केही व्यक्ति वा संस्थाले अलग अभियान सुरु गर्ने सोच बनाइरहेको भए पुनर्विचार गरौँ। यो प्रतिस्पर्धा वा शक्ति प्रदर्शन गर्ने समय होइन; सहकार्य, परिपक्वता, सम्मान र एकता देखाउने समय हो।

सबै संस्था र अगुवाहरूको अस्तित्व तथा योगदान उत्तिकै सम्माननीय छन्। एउटै ढोकाबाट गरिएको सहयोगले पारदर्शिता, जवाफदेहिता, जनविश्वास तथा हाम्रो सामूहिक पहिचानलाई अझ बलियो बनाउनेछ।

हाम्रो उद्देश्य देखाउनु होइन, सहयोग गर्नु हो।

तर हामी एक भएर सहयोग गर्दा संसारले स्वाभाविक रूपमा देख्नेछ—विपत्तिको घडीमा भुटानी नेपाली अमेरिकी समुदायको मन ठूलो छ र मानवताको पुकार आउँदा हामी एकसाथ उभिन्छौँ।

कुनै पनि सहयोग सानो हुँदैन। प्रत्येक डलरले आशा बोकेको हुन्छ र प्रत्येक साझा गरिएको सन्देशले सहयोगको दायरा बढाउँछ।

हामीलाई शरण दिएको भूमि आज सहयोगका लागि पुकारिरहेको छ। संस्थागत सीमा, धार्मिक पहिचान, व्यक्तिगत मतभेद र स्वार्थभन्दा माथि उठेर एउटै समुदाय, एउटै आवाज र एउटै साझा मानवीय अभियानका रूपमा नेपालसँग उभिऔँ।

सहयोगका लागि: गोफन्डमी अभियान

https://gofund.me/e2a4d1fd4

More From Author

रोचेस्टर अन्तरराज्यीय कप फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न

म्युजिक भिडियो ‘हेर न आकाशमा’ सार्वजनिक हुने तयारीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *