४ कात्तिक २०८३ | बुधबार, २१ अक्टोबर २०२६
अमेरिकाको ओहायो राज्यमा नेपाली मूलका व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या भएको छ। ओहायोको फेयरफिल्डस्थित सुनचाँदी पसलमा लुटपाटका क्रममा गोली चलेपछि तीन सन्तानका पिता सिन्चुरीको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय समयअनुसार मंगलबार, अक्टोबर २० दिउँसो करिब १२ बजेर ५४ मिनेटमा फेयरफिल्डको ६६७९ डिक्सी हाइवेमा रहेको एभरेस्ट ज्वेल्र्समा गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।



प्रहरी पुग्दा पसलभित्र एक पुरुष मृत अवस्थामा भेटिएका थिए। मृतकका आफन्तहरूले दिएको जानकारीअनुसार मृतक पसलका सञ्चालक तारा सिन्चुरी हुन्। उनी नेपाली मूलका आप्रवासी र तीन सन्तानका पिता रहेको परिवारले जनाएको छ।
घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूले पसलको सिसा फुटेको र विभिन्न सुरक्षा निकायका अधिकारीहरू अनुसन्धानमा खटिएको देखेका थिए। प्रहरीले घटनालाई लुटपाटसँग सम्बन्धित हत्याका रूपमा अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न भएको आशंका गरिएका व्यक्तिको पहिचान तथा पक्राउबारे प्रारम्भिक प्रहरी विवरणमा कुनै जानकारी सार्वजनिक गरिएको छैन। अनुसन्धानकर्ताहरूले आसपासका व्यवसायमा जडान गरिएका सीसीटीभी क्यामेराका दृश्यसमेत जाँच गरिरहेका छन्।
नेपाली समुदायको चाडपर्वको अवसरमै यस्तो घटना भएको मृतकका परिवारका सदस्यहरूले बताएका छन्। परिवारमा खुसीयालीको समय हुनुपर्ने बेला व्यवसायी सिन्चुरीको मृत्युले आफन्त तथा शुभचिन्तकलाई शोकमा पारेको छ। यसैबीच मृत सेन्चुरीका आफन्तजनले सामाजिक सञ्जालमा पोष्ट गर्दै समवेदना समेत प्रकट गरेका छन् ।

अमेरिकामा बन्दुकसँग सम्बन्धित लुटपाटको समस्या
अमेरिकामा सुनचाँदी पसल तथा अन्य व्यवसायमा लुटपाट र बन्दुकसँग सम्बन्धित हिंसाका घटना सुरक्षा चुनौतीका रूपमा रहेका छन्। यद्यपि पछिल्ला राष्ट्रिय तथ्याङ्कले यस्ता अपराध समग्रमा घटेको देखाएका छन्।
अमेरिकी न्याय तथ्याङ्क ब्युरोका अनुसार सन् २०२४ मा बन्दुक प्रयोग भएका लुटपाटका करिब ८४ हजार ९२० पीडित घटना अनुमान गरिएको थियो। सन् २०२३ मा यस्तो संख्या एक लाख ८३० थियो।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का अनुसार सन् २०२५ मा देशभर लुटपाटसम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा करिब १८ दशमलव ५ प्रतिशतले घटेको थियो। यद्यपि फेयरफिल्डको पछिल्लो घटनाले व्यवसाय सञ्चालनका क्रममा हुन सक्ने हिंसात्मक जोखिमलाई फेरि उजागर गरेको छ।
फेयरफिल्ड प्रहरीले घटनाबारे जानकारी भएका व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। घटनासम्बन्धी कुनै सूचना भए प्रहरी अधिकारी सार्जेन्ट ब्रायन कार्नेसलाई ५१३–८६७–६००५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रहरीले घटनाको कारण, संलग्न व्यक्ति र लुटिएको सम्पत्तिको विवरणबारे अनुसन्धान जारी राखेको छ।



