अमेरिकामा श्रीमतीको मृत्यु प्रकरण : बाल खड्काविरुद्ध दोस्रो तहको हत्या अभियोग

अमेरिका- अमेरिकाको भर्मन्ट राज्यस्थित बर्लिङ्टनमा श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ४४ वर्षीय बाल खड्काविरुद्ध दोस्रो तहको हत्या अभियोग लगाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बर्लिङ्टन प्रहरीलाई अक्टोबर १० शनिबार बिहान ६ बजेअघि घरेलु झगडासम्बन्धी धेरै ९११ फोन आएक थिए। त्यसपछि प्रहरी साउथ च्याम्प्लेन स्ट्रिटस्थित एक अपार्टमेन्टमा पुगेको थियो। प्रहरी पुग्दा एक महिला शय्यामा अचेत अवस्थामा र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएको जनाइएको छ। उनलाई अस्पताल लगिए पनि आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ। 

प्रहरी अनुसन्धानका अनुसार खड्काले आफ्नी श्रीमतीमाथि ठूलो टर्चलाइटले प्रहार गरेको आरोप छ। घटना हुँदा बालबालिका पनि उपस्थित रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसअघि उनीमाथि हत्या प्रयासको अभियोग लगाइएकोमा महिलाको मृत्यु भएपछि अभियोग परिवर्तन गरी दोस्रो तहको हत्या अभियोग लगाइएको हो।

पीपुल म्यागेजिनका अनुसार खड्का अक्टोबर १३ मा अदालतमा उपस्थित भएका थिए र उनले दोस्रो तहको हत्या अभियोगमा आफू दोषी नभएको दाबी गर्दै अपील दिएका छन् । सोही रिपोर्टमा मृतक महिलाको नाम लिला खड्का उल्लेख गरिएको छ। 

उक्त घटनामा तीन बालबालिका उपस्थित रहेको र तीमध्ये एक जनाले घटनाको अडियो रेकर्ड गरेको समेत अदालतसम्बन्धी विवरणलाई उद्धृत गर्दै पीपुलले लेखेको छ । अभियोजन पक्षले बालबालिकाको अगाडि भएको घटनालाई गम्भीर परिस्थितिका रूपमा लिएको जनाएको छ। 

खड्कालाई हाल धरौटीबिना हिरासतमा राखिएको छ। बालबालिका आफन्तको संरक्षणमा रहेको पीपुलले जनाएको छ। 

अमेरिकामा नेपाली समुदायसँग जोडिएको यस घटनाले घरेलु हिंसा, पारिवारिक सुरक्षा र बालबालिकामाथि पर्ने मानसिक असरबारे गम्भीर प्रश्न उठाएको छ। घटनाबारे बर्लिङ्टन प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकको आफन्तले गो फन्ट मार्फत सहयोगको अपील गरेका छन् । जसकाे लिंक तल राखिएकाे छ ।

https://www.gofundme.com/f/support-lila-darjees-children

More From Author

भुटानिज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया द्वारा ह्यारिसबर्गमा तेस्रो वार्षिक ‘कम्युनिटी मेला’ आयोजना हुदैँ

सुशील विश्वकर्माको सम्मानमा स्क्रान्टनमा सांगीतिक कार्यक्रम हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *