
ह्यारिसबर्ग, पेन्सिलभेनिया — भुटानीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (BCCPA) ले आफ्नो तेस्रो वार्षिक ‘कम्युनिटी मेला’ आगामी आइतबार, अक्टोबर १८ का दिन ह्यारिसबर्गस्थित रिभरफ्रन्ट पार्क (Riverfront Park) मा आयोजना गर्ने भएको छ।”हाम्रो संस्कृति, हाम्रो समुदाय, हाम्रो भविष्य” भन्ने मूल नाराका साथ यो सांस्कृतिक उत्सव आयोजना हुन लागेको हो।
यस मेलाले नेपाली भाषी तथा भुटानी समुदायलाई एउटै स्थानमा भेला गराउँदै आपसी सद्भाव, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई बलियो बनाउने उद्देश्य राखेको छ। साथै विदेशमा रहेर पनि दशैं-तिहार जस्ता हाम्रा महान् चाडपर्व, कला र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएका छन्।
दिनभर सञ्चालन हुने यस मेलामा बिहान ९:०० बजेदेखि ९:४५ बजेसम्म सांस्कृतिक परेड (Cultural Parade) हुनेछ भने बिहान ९:३० बजेदेखि साँझ ५:०० बजेसम्म स्थानीय कलाकारहरूद्वारा विविध सांस्कृतिक नृत्य, गीत-संगीत र गायन प्रस्तुति रहनेछ। दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म औपचारिक सत्र तथा भाषण कार्यक्रम सञ्चालन गरिनेछ।
मेलामा नेपाली संस्कृति र मौलिकता झल्काउने विविध स्टलहरूसँगै मौलिक तथा लोकप्रिय स्वादका खानाका स्टलहरू पनि रहनेछन्। खानाका स्टल राख्ने व्यवसायीहरूका लागि सिटी (City) तथा स्टेट (State) बाट प्राप्त वैध लाइसेन्स अनिवार्य गरिएको छ।
सहभागीहरूको सहजताका लागि आयोजकले नक्सा जारी गर्दै पार्किङ र बाटो सम्बन्धी जानकारी दिएका छन्। सहभागीहरूका लागि सिटी आइल्याण्ड (City Island) मा रहेका तोकिएका पार्किङ क्षेत्रहरू प्रयोग गर्न भनिएको छ, जहाँबाट पैदल पुल (Pedestrian Walking Bridge) हुँदै सस्कुहाना नदी (Susquehanna River) पार गरेर सिधै रिभरफ्रन्ट पार्कमा पुग्न सकिनेछ।
यस मेलालाई सफल बनाउन सहयोग गर्ने विभिन्न दाता, व्यवसायी, संघसंस्था, स्वयंसेवक, कलाकार तथा शुभेच्छुकहरूप्रति भुटानीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (BCCPA) ले हार्दिक आभार व्यक्त गरेको छ। आयोजकले सम्पूर्ण परिवार, आफन्त, मित्रजन तथा समुदायका सदस्यहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुका साथै आफ्नो संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न हार्दिक आमन्त्रण गरेका छन्।
विस्तृत जानकारीका लागि mybccpa.org मा लगअन गर्न सक्नुहुनेछ।



