अमेरिकाको स्क्र्यान्टनमा दोस्रो ‘दशैं–तिहार मेला २०२६’ भव्यताका साथ सम्पन्न

पेन्सिलभेनिया स्क्र्यान्टन- अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित स्क्र्यान्टनमा नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो ‘दशैं–तिहार मेला २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। भुटानीज कम्युनिटी अफ स्क्र्यान्टनको आयोजनामा ने अग पार्कमा आयोजित यस मेलाले प्रवासी नेपालीभाषी समुदायलाई एउटै स्थानमा भेला गराउँदै आपसी सद्भाव, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई अझ बलियो बनाएको आयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो।

कार्यक्रमको सुरुआत मौलिक नेपाली बाजागाजाका साथ नेपाल, भुटान र अमेरिकाको राष्ट्रिय झण्डा बोकेर निकालिएको विशेष र्‍यालीबाट गरिएको थियो। र्‍याली पश्चात् बिसिएस अध्यक्षले दीप प्रज्वलन गरे लगत्तै हालै नेपालमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। मेलामा स्थानीय तथा अन्य विभिन्न शहरहरूबाट सहभागी भएका कलाकारहरूले उत्कृष्ट गीत तथा नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए।

यसका साथै नेपाली खानाका पारखीहरूका लागि विभिन्न मौलिक तथा लोकप्रिय परिकारका स्टलहरूसँगै सांस्कृतिक सामग्री र पहिरनका स्टलहरू पनि राखिएका थिए। खाद्य सुरक्षालाई ध्यानमा राख्दै खानाका स्टल व्यवसायीहरूले सिटीबाट प्राप्त आवश्यक लाइसेन्स लिएर मात्र सेवा प्रदान गरेका थिए।त्यसरी नै काउन्टी कमिश्नर टम वेल्बीद्वारा भुटानीज कम्युनिटी अफ स्क्र्यान्टनका अध्यक्ष किशोर राईलाई प्रोकलामेसन प्रदान गरेको थियो।

कार्यक्रममा लाकावाना काउन्टी कमिश्नर टम वेल्बी, युनाइटेड नेबरहुड सेन्टरकी डाइरेक्टर ओड्रे गोलोस्की, सिटी अफ स्क्र्यान्टनका प्रतिनिधि एन्थोनी ग्रेटर, क्याथोलिक सोसल सर्भिसेजकी डाइरेक्टर फिकिले राइडर, युनिभर्सिटी अफ स्क्र्यान्टनकी एसिस्टेन्ट डाइरेक्टर डेजी कारेटो, ब्रिजेस टु वेलनेसकी सुपरभाइजर रुथ कुइनिका, गभर्नर एडभाइजरी कमिसनका एक्जिक्युटिभ डाइरेक्टर राजिन कारु, क्याथोलिक सोसल सर्भिसकी गुलनार सिद्दिकी र स्क्र्यान्टन सिटी आउटरीच कोअर्डिनेटर च्यानल कियर्स जस्ता विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। विदेशमा रहेर पनि आफ्ना मौलिक चाडपर्व, संस्कार र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन र सांस्कृतिक पहिचान जोगाउन यो मेला निकै फलदायी सिद्ध भएको छ।

More From Author

ल्याङ्कास्टरमा ९ दिने सामूहिक दुर्गा पूजा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *