सुशील विश्वकर्माको सम्मानमा स्क्रान्टनमा सांगीतिक कार्यक्रम हुने

स्क्रान्टन, पेन्सिलभेनिया- नेपाली संगीत क्षेत्रका वरिष्ठ बाँसुरीवादक, संगीतकार तथा संगीत संयोजक सुशीलकुमार विश्वकर्माको सम्मानमा अमेरिकाको पेन्सिलभेनियास्थित स्क्रान्टनमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ।

स्कार्टन म्युजिकल आरर्टिष्ट र म्यूजिकल यात्रा इन्टरटाइन्मेन्टको आयोजनामा आगामी शनिबार, अक्टोबर १७, २०२६ मा “जीबन्त अग्रज शुशिल प्रति सम्मान” शीर्षकमा सांगीतिक सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो।कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म युनिभर्सिटी अफ स्क्रान्टन अडिटोरियम हल, ८०० लिन्डन स्ट्रिट, स्क्रान्टन, पेन्सिलभेनियामा हुने आयोजकले जनाएको छ।

सुशील विश्वकर्मा को हुन्?
सुशीलकुमार विश्वकर्मा नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि सक्रिय वरिष्ठ स्रष्टा हुनुहुन्छ। सर्लाहीमा जन्मिनुभएका उहाँले बाँसुरीवादन, संगीत सिर्जना, संगीत संयोजन, गायन तथा नेपाली मौलिक संगीतको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।
वि.सं. २०४१ सालदेखि रेडियो नेपालसँग आबद्ध रहनुभएका विश्वकर्माले सुगम संगीत, लोक संगीत, शास्त्रीय संगीत तथा चलचित्र संगीतका क्षेत्रमा काम गर्नुभएको छ। उहाँले इलाहाबादबाट संगीतसम्बन्धी अध्ययन गर्नुका साथै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट पनि संगीत प्रशिक्षण लिनुभएको विवरणमा उल्लेख छ।

नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँले नारायणगोपाल राष्ट्रिय युवा संगीत पुरस्कार, रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत प्रतियोगितामा प्रथम स्थान, विभिन्न संगीत सम्मान तथा अभिनन्दन प्राप्त गर्नुभएको छ।आयोजकका अनुसार यो कार्यक्रम केवल एक व्यक्तिको सम्मान मात्र नभई नेपाली संगीत, संस्कृति र समुदायबीचको एकताको उत्सव पनि हुनेछ। कार्यक्रममा नेपाली संगीतकर्मी, कलाकार, शुभचिन्तक तथा समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले स्क्रान्टन तथा आसपास बसोबास गर्ने नेपाली समुदाय, संगीतप्रेमी तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता र सहयोग गर्न आग्रह गरेको छ।नेपाली कला, संस्कृति र संगीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको आयोजकले जनाएको छ।

More From Author

अमेरिकामा श्रीमतीको मृत्यु प्रकरण : बाल खड्काविरुद्ध दोस्रो तहको हत्या अभियोग

सिकागो क्षेत्रको हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्डको योजना बनाएको आरोपमा १९ वर्षीय युवक पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *