
रोचेस्टर, न्युयोर्क —एक कप, एक लक्ष्य, एकता’ भन्ने मूल नाराका साथ न्युयोर्कको रोचेस्टरमा आयोजना गरिएको पहिलो अन्तरराज्यीय कप फुटबल प्रतियोगिता आइतबार भव्य रूपमा सम्पन्न भएको छ। रोचेस्टर युनाइटेडको प्रस्तुति तथा बीसीजीआरको सहकार्यमा आयोजित प्रतियोगिता अगस्ट २१ देखि २३ सम्म रोचेस्टरस्थित मार्टिन पार्कमा सञ्चालन भएको थियो।

समुदायमा आधारित यस प्रतियोगितामा १६ वर्षमाथि र ३० वर्षमाथिका विभिन्न उमेर समूहका टोलीहरूको सहभागिता रहेको थियो। विभिन्न राज्यबाट खेलाडी तथा टोलीहरू रोचेस्टरमा भेला भएकाले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। फुटबलमार्फत विभिन्न राज्यमा रहेका नेपाली तथा भुटानी समुदायका खेलाडीहरूलाई एउटै मैदानमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको युवा समूहमा पेन्सिलभेनिया एफसी विजेता बनेको छ भने पेन्सिलभेनिया रिभोलुसन उपविजेता बनेको छ। त्यस्तै, ३० वर्षमाथिको समूहमा पेन्सिलभेनिया युनाइटेड विजेता र भर्मोन्ट एफसी उपविजेता बनेका छन्। विजेता तथा उपविजेता टोलीलाई ट्रफीसहित क्रमशः ८ हजार र ५ हजार अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी तथा पुरस्कारद्वारा सम्मान गरिएको थियो।

प्रतियोगितामा कुल २५ हजार अमेरिकी डलरसम्मको पुरस्कार तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ। टोलीको सफलतासँगै खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई समेत प्राथमिकता दिँदै विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रतिभाहरूलाई सम्मान गरिएको थियो।

प्रतियोगिताको समापन कार्यक्रममा भुटानी अमेरिकन सकर एसोसिएसनका संस्थापक किरण थापा, मोनरो काउन्टीका प्रमुख विविधता अधिकारी डेभिड स्कट, रोचेस्टर प्रहरी विभागका सार्जेन्ट जस्टिन कोलिन्स, हेनरिएटा टाउन काउन्सिल सदस्य मिली सेफ्रानेक, तथा विल्सन फाउन्डेसनका कार्यकारी निर्देशक एवं हेनरिएटा विद्यालय जिल्ला बोर्ड सदस्य रेचल शर्मन लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा उपस्थित अतिथिहरूले समुदायलाई एकताबद्ध गर्न तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई समुदायबीचको सम्बन्ध, सहकार्य र एकता बलियो बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

प्रतियोगिता सफल बनाउन स्थानीय व्यवसायी, खेलप्रेमी, समुदायका अगुवा तथा शुभेच्छुकहरूबाट महत्वपूर्ण आर्थिक, व्यवस्थापकीय तथा स्वयंसेवी सहयोग प्राप्त भएको थियो। आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, खेलाडी, टोली, अतिथि तथा दर्शकहरूप्रति आभार व्यक्त गरेको छ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै रोचेस्टरमा नेपाली तथा भुटानी समुदायबीच फुटबलमार्फत एकता, सहकार्य र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ सुरुवात भएको आयोजकको विश्वास छ।

समापन कार्यक्रममा उद्घोषक समिर रेग्मीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा उपस्थित दर्शकहरूलाई धन्यवाद दिँदै सन् २०२८ मा पुनः अन्तरराज्यीय कप फुटबल प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आगामी प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने अपेक्षा समेत व्यक्त गरे।






For more photos plz visit Bhutanese News Facebook Page



