रोचेस्टरमा पहिलो अन्तरराज्यीय कप फुटबल प्रतियोगिताको अन्तिम तयारी

रोचेस्टर, न्युयोर्क — ‘एक कप, एक लक्ष्य, एकता’ भन्ने मूल नाराका साथ न्युयोर्कको रोचेस्टरमा पहिलो अन्तरराज्यीय कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बी.सी.जी.आर. रोचेस्टर युनाइटेडको आयोजनामा हुने यो समुदायमा आधारित (Community-based) प्रतियोगिता आगामी अगस्ट २१ देखि २३ सम्म रोचेस्टरस्थित मार्टिन पार्क (१३४४ मार्टिन रोड) मा तीन दिनसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा १६ वर्षमाथि र ३० वर्षमाथिका विभिन्न उमेर समूहका टोलीहरूले सहभागिता जनाउनेछन्। विभिन्न राज्यबाट खेलाडी तथा टोलीहरूको उपस्थिति रहने भएकाले रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरूमार्फत रोचेस्टरमा अन्तरराज्यीय स्तरको फुटबल माहोल थप मजबुत हुने अपेक्षा गरिएको छ। यस प्रतियोगिताले फुटबलमार्फत विभिन्न राज्यमा रहेका नेपाली तथा भुटानी समुदायका खेलाडीहरूलाई एउटै मैदानमा जोड्ने लक्ष्य राखेको छ।

प्रतियोगितामा कुल २५ हजार अमेरिकी डलरसम्मको पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ। आयोजकले टोलीको जितसँगै खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई समेत प्राथमिकता दिँदै विभिन्न विधाका उत्कृष्ट प्रतिभाहरूलाई ट्रफीद्वारा सम्मानित गर्ने जनाएको छ। कार्यक्रमलाई सफल बनाउन स्थानीय व्यवसायी, खेलप्रेमी तथा शुभेच्छुकहरूबाट महत्त्वपूर्ण आर्थिक र व्यवस्थापकीय सहयोग प्राप्त भएको छ।

बी.सी.जी.आर.का अध्यक्ष विजय खड्काको नेतृत्वमा हुन लागेको यस प्रतियोगिताको कार्यक्रम निर्देशकमा सोनाम लामा र डुक खरेल रहनुभएको छ। खेल आयोजना गर्नु र सम्पन्न गर्नुमा समाजका विभिन्न व्यक्तिहरूको ठूलो भूमिका रहने गर्छ। त्यसै गरी छोटो समयमा यो खेल आयोजना गर्नुमा रियलटर तथा व्यवसायी डुक खरेल र खेलाडी तथा समाजसेवी सोनाम लामाको ठूलो योगदान रहेको छ। प्रतियोगिताको सल्लाहकारका रूपमा बासा (BASA) का संस्थापक किरण थापासँगै समुदायमा युवाहरूलाई खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएका किशोर चौहान रहनुभएको छ।

प्रतियोगिताको मूल समूह (Core Group) मा अमृत गौतम, दामु अधिकारी, दिलीप खनाल, किसान आचार्य, बबी सुब्बा, शान्त सुब्बा, नरेन न्यौपाने, उत्तम गजमेर, श्याम खरेल, नरेन्द्र पोखरेल, विवेक तामाङ, टंक दाहाल, चन्द्र भट्टराई, सञ्जय राई, समीर रेग्मी, शान्ति खरेल, मन्दीप राई र अमृत गुरुङ रहनुभएको छ।

More From Author

तेस्रो ‘संगालो: रिडिङ फर रिजिलियन् कथा वाचन प्रतियोगिता सेप्टेम्बर ५ मा हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *