संग्रहालय बनाइने थारू संस्कृति जोगाउन

संग्रहालय बनाइने थारू संस्कृति जोगाउन

 

 

 

 

नेपालगञ्ज: बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, झाँकीलगायतका विभिन्न कार्यक्रम भइरहेका छन्।

सोही अवसरमा ‘माघी मिलन कार्यक्रम-२०८०’ गरियो। थारू सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारू संस्कृतिलाई जगेर्ना गर्न जोड दिइएको छ। कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारू समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारूको सम्मानार्थ गाउँपालिकाले थारू सङ्ग्रहालय निर्माण गर्ने बताए।

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा सङ्ग्रहालय निर्माण गरेर त्यहाँ थारू कला, संस्कृतिका साथै स्वर्गीय बैजनाथ थारूको जीवनीबारे जानकारीमूलक सामग्री राखिने जानकारी दिए। उनले भने, ‘थारू संग्रहालय बनाउन मैले जुन कुराको प्रतिबद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पूरा गर्छु।’

नागरिक उन्मुक्ति पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाइँमा थारू समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रूपमा रहेको माघी पर्व थारू समुदायको पौराणिक संस्कृतिसँग जोडिएको विशेष पर्व भएको औँल्याए।

थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारूले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताए। ‘सांस्कृतिक र धार्मिक विविधता भएको देशमा थारू समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ’, उनले भने‚ ‘आजकै दिनदेखि हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छौं।’ दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ गाउँका बडघरद्वारा थारू मौलिक नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार