बर्तौला टिआरसी टुंग्याउन एमालेले दिएन नभन्नुस्
काठमाडौं : नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिए।
उनले एमालेल असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताए। उनले विधेयक निर्माढा गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर विधेयक आफू अनुकूलतको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताए।
उनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए।
उनले भने, ‘यी विषयहरु हामी सहमतिमै टुंग्याउन सक्छौँ। यदि भएन भने बिल निर्माणको आफ्नो प्रक्रिया छ। बिल निर्माणको आफ्नो प्रक्रियामा हाम्रा भनाइहरु रहन्छन्, यो कुरा फेरि पनि भन्छु तर मान्छेहरुलाई यति के नपरोस् भने हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुरजी पनि र तोकिने पुष्पकमल दाहालज्यु पनि सरकारमा हुनुहुन्छ,। सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनता नपरोस्। त्यसमा हामी सचेत छौँ। गहन छलफल गरेर नै टुंग्याऔँ। व्यवस्थित कानून बनाउने कोणबाट नै हामीले सोचेरै जाऔँ। सबैको साझा विषय हो भन्ने ठाउँबाट बुझ्नुहोला। सरकारको तहबाट समाजमा उठेका मुद्दा प्रतिपक्षका बेन्चबाट आउँछन् भन्ने ठानिदिनुपर्छ। विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ।’
सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताए।