सचिव सिंह मेरो ९५ प्रतिशत समय सरुवामै खर्च हुन्छ|

सचिव सिंह मेरो ९५ प्रतिशत समय सरुवामै खर्च हुन्छ|

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आफ्नो ९५ प्रतिशत समय कर्मचारी सरुवामै बित्ने गरेको बताएका छन् । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय   समितिको बैठकमा उनले उक्त जानकारी गराएका हुन्।

उनले मन्त्रालयले खास गरी सङ्घीयताको सवालमा काम गर्नुपर्ने भए पनि सरुवामै कार्यालय समय बित्ने गरेको बताए । उनले राजनीतिक दल र जनप्रतिनिधिका कारण पालिकामा पठाइएका  प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने प्रवृत्ति बढेको बताए।

रौतहट स्थित वृन्दावन नगरपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको सिंहले जानकारी  दिए । उनले त्यहाँ जनप्रतिनिधि कै कारण प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको बताए। उनले भने, उपसचिव पठाएको हाजिर गर्न दिइएन, शाखा अधिकृत पठायौँ हुँदैन, छैटौँ तहको जुनियर कर्मचारीलाई निमित्त दिनुपर्‍यो भन्नुभएको छ, हामीले हुँदैन भनेर रोकेका छौँ।

उनले ९५ प्रतिशत कर्मचारी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत जान नमान्ने गरेको बताए। मेयर उपमेयरले  पुरानो कामको बजेट फर्छ्यौट गर्न दबाब दिने गरेपछि कर्मचारी जान नमान्ने गरेको जानकारी सिंहले दिए।

स्थानीय तहमा बेरुजु बढेको र यो अवस्था रहिरहे स्थिति भयावह हुने सिंह बताउँछन्। उनले समितिलाई जानकारी गराए अनुसार स्थानीय तहमा  १  देखि २५ प्रतिशत  बेरुजु देखिन्छ।

प्रदेशले आफूखुसी कर्मचारी बढुवा र नियुक्ति गर्दा त्यसको वित्तीय भार कालान्तरमा बढ्ने सिंहले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार