कृष्ण सिटौला अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ, नयाँ समझदारी जरुरी छ

 

कृष्ण सिटौला अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ, नयाँ समझदारी जरुरी छ

विराटनगर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन्।

राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज (मंगलबार) सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले  राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकोमा जोड दिँदै आफू त्यसमा लागिपर्ने बताए।

नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक रहेको बताउँदै उनले दलहरुबीचमा संसदमा नयाँ समझदारी निर्माण हुनुपर्ने उल्लेख गरे। कांग्रेसका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कांग्रेसले एकताबद्ध भएर अगाडि बढ्ने सिटौलको भनाइ थियो।

आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको भन्दै उनले राष्ट्रियसको अध्यक्ष बन्ने गरी उम्मेदवार बन्नुभएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने अहिले त्यसबारे चर्चा गर्नु उचित नभएको प्रतिक्रिया दिए।

राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताउँदै उनले  पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको दाबी गरे।

निर्वाचन परिणाम आएर राष्ट्रियसभामा पुगेपछि ती प्रश्नको स्वभाविक रूपमा जवाफ आउने उनको भनाइ थियो।

उम्मेदवार चयनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेकोबारे सोधिएको प्रश्नमा सिटौलाले आफ्नो उम्मेदवारीबारे पार्टीमा विवाद नभएको दाबी गरे। आफू सबैसँग बिदा मागेर आइतबार साँझ नै विराटनगर हिँडेको र सबै कुरा बुझ्न नपाएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार