‘जनयुद्ध’ का बागमतीमा घाइतेदेखि पुराना वामपन्थी नेतासम्म मैदानमा
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरूले सोमबार धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन्।
बागमती प्रदेशमा अन्य, महिला, दलित, अपांगता/अल्पसंख्यक क्लस्टरबाट निर्वाचित भएकाहरूको पदावधि सकिँदैछ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उम्मेदवारी दर्ता गरेका छन्। सत्ता गठबन्धन र एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
दलहरूले नयाँ–पुराना अनुहारहरूलाई प्रतिस्पर्धामा उतारेका छन्। माओवादी केन्द्रले ससस्त्र संघर्षको दौरानमा अपांगता भएका पुराना नेतालाई मैदानमा उतारेको छ। नेकपा (एमाले)ले पनि यसअघि अवसर नपाएकालाई नै अघि सारेको छ।
ती क्लस्टरहरूका लागि दलहरूले उम्मेदवारी दर्ता गरेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गर्दैछन्।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले बागमती प्रदेशको अन्यमा जितजंग बस्नेतलाई उम्मेदवार बनाएको छ। ललितपुरका बस्नेत पार्टीमा बालकृष्ण खाणनिकट मानिन्छन्। तरूण दलको पूर्वअध्यक्ष, नेविसंघका पूर्वमहामन्त्री रहेका उनी २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। बस्नेत सभापति शेरबहादुर देउवानिकट पनि मानिन्छन्।
महिला कोटाबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन्। उनी पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन्। उनलाई संस्थापनइतरबाट टिकट दिएको कांग्रेसका एक नेताले बताए।
बागमतीको अपांगता/अल्पसंख्यक कोटा माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ। उनी २०५२ देखि २०६३ सम्म चलेको ‘जनयुद्ध’ का दौरानमा घाइते भएका थिए। उनी २०५३ साल पुस १९ गते रामेछापको बेथान चौकी आक्रमणको क्रममा घाइते भए एउटा आँखा गुमाउन पुगेका थिए। त्यो घटनामा तीन जना मारिएका थिए।
२०३५–०३६ सालदेखि नै तत्कालीन नेकपा मसाल हुँदै पार्टीमा सक्रिय रहेका उनी अहिले माओवादी केन्द्रको सम्पर्क–समन्वय प्रदेश कमिटी अध्यक्ष छन्।
प्रमुख प्रतिपक्ष दल एमालेले महिला क्लस्टरमा दोलखाकी रोचकुमारी चौलागाईंलाई उठाएको छ। उनी २०७८ वैशाखमा दिवंगत भएका नेता पशुपति चौलागाईंकी माइली बुहारी हुन्। पशुपतिका माइला भाइ कुमार पनि राजनीतिमै छन्।
रोचकुमारी दुई दशकदेखि राजनीतिमा सक्रिय रहेको एमाले बागमतीले जानकारी दिएको छ। उनी यसअघिको एमालेको दोलखा जिल्ला अधिवेशनमा उपाध्यक्ष पदकी प्रत्यासी थिइन्। त्यो अधिवेशनमा उनी राजेन्द्र मानन्धरसँग झीनो मतले पराजित भएकी थिइन्।
उनी अहिले एमाले बागमती प्रदेश कमिटीको सदस्य छिन्।
बागमती प्रदेशको अपांगता/अल्पसंख्यकको कोटाबाट उम्मेदवार बनेका विवेक देवकोटा तत्कालीन माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल)को आक्रमणमा परेका हुन्। काठमाडौंको साविक जितपुरफेदी गाविसको युवा संघ अध्यक्ष रहेका उनीमाथि २०६५ सालमा वाइसिएलले आक्रमण गरी खुट्टा काटेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।
‘त्यतिबेला वाइसिएलको ज्यादती थियो। त्यसकोविरूद्ध आवाज उठाउँदा उहाँमाथि सांघातिक आक्रमण भएको थियो। खुट्टा काटेर झाडीमा फालिदिएका थिए। पाँच–छ महिना उपचार गरेर नक्कली खुट्टा राख्न मिल्ने बनाइयो, त्यसपछि उहाँ पार्टी काममा सक्रिय हुनुहुन्छ,’ उनले भने।
एमालेले बागमती प्रदेशबाट अन्य समूहतर्फ उम्मेदवार बनाएका त्रिलोचन निर्मल पौडेल पाका कम्युनिस्ट नेता हुन्। ७२ वर्षका उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन्।
२०२९, २०३४ सालमा गरी पटक–पटक हिरासत, जेल यातना बेहोरेका उनी ‘लो प्रोफाइल’मा रहेर काम गर्ने नेतामा पर्ने एमाले बागमती प्रदेशका सचिव नवराज सिलवालले जानकारी दिए।
दलित कोटाबाट उम्मेदवार बनेका ध्रुव विश्कर्मा पनि एमालेका पुराना नेता हुन्। उनी २०४३ सालमा बेनीघाट गाउँपञ्चायतको उम्मेदवार बनेका थिए। २०४८ सालमा एमालेको पार्टी सदस्यता लिएका उनी एमालेको सहकारी विभागमा रहेर काम गरेका थिए।
२०६४ सालमा धादिङ जिल्ला कमिटी सदस्य रहेका उनी अहिले एमालेको बागमती प्रदेश कमिटी सदस्य छन्।
दोलखाबाट दलित क्लस्टरबाट उम्मेदवार बनेका घनश्याम रिजाल विश्वकर्मा पनि पार्टी राजनीतिमा सक्रिय छन्। उनी नेकपा (एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष हुन्। एकीकृत समाजवादी सम्बद्ध दलित संगठनका महासचिव रहेका उनी सुनचाँदी व्यवसायीसमेत रहेको त्यसको महासंघमा पनि आबद्ध भएर काम गरेको पार्टीले जानकारी दिएको छ।
उनी एमाले एक हुँदा पनि पार्टी गतिविधिमा सक्रिय थिए। त्यतिबेला जिल्ला कमिटीको उपसचिव रहेको एकीकृत समाजवादीले जानकारी दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई अघि सारेको छ। राप्रपाले बागमती प्रदेशको अन्य क्लस्टरमा भरतमणि भट्टलाई उठाएको छ। महिलातर्फ नानु नगरकोटी अपांगता/अल्पसंख्यकबाट हेमजंग गुरूङ र दलिततर्फ पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ।
चारैजना राप्रपाका पूर्णकालीन कार्यकर्ता हुन्।
बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ।
नेमकिपाबाट अपांगता/अल्पसंख्यक क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्णलक्ष्मी दुबालले मनोनयन दर्ता गरेका हुन्।