के भन्छन् सत्ता गठबन्धनका साना दल ? राष्ट्रियसभामा सिट नपाएपछि
काठमाडौँ । राष्ट्रिसभा सदस्यको चुनावका लागि सत्ता गठबन्धनले सिट बाँडफाँट गरेको छ । १९ सिटका लागि हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले भागबण्डा पाएका छैनन्
गठबन्धनमा रहेका चार वटा दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका बिचमा सिट बाँडफाँट भएको छ । जस अनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले एक सिट पाएका छन् ।
तर कम्तीमा एक सीट पाउनु पर्ने दाबी गरेका लोसपा, जनमत, उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले एक सिट पनि पाएनन् ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले राष्ट्रिय सभामा एक सिटमा आफूहरुको दाबी रहेको बताए । उनले भने, ‘हामीले एक सिट माग गरेका छौँ, त्यो पाउँछौँ जस्तो लाग्छ, हामी अझै आशावादी छौँ ।’
प्रधानमन्त्री प्रचण्डसँग कुराकानी चलिरहेको र एक सिट पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताए । उनले गठबन्धनभित्रका सबैलाई सिट मिलाउन नसके त्यो बेइमानी हुने बताए । आफूहरुले प्रधानमन्त्री अथवा गठबन्धनलाई धोका नदिएका कारण उताबाट पनि आफूहरुमाथि धोका नहुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।
चौधरीले आफू महाधिवेशनको तयारीमा लागेका कारण बैठकहरुमा जान नपाएको तर गठबन्धन दलका नेताहरुसँग छलफलमै रहेको जानकारी दिए ।
यस्तै, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आफूहरुले एक सिटमा दाबी गरेको तर गठबन्धनले के निर्णय ग¥यो भन्नेबारे आफ्नो पार्टीलाई कुनै जानकारी नआएको बताइन् । शनिबार बसेको गठबन्धनको बैठकमा आफूले एक सिटमा दाबी प्रस्तुत गरेको बताउँदै उनले त्यो एक सिट पाउने हो कि नपाउने हो भन्नेबारे कुनै जानकारी नआएको बताइन् ।
गठबन्धनको आधिकारिक निर्णयको प्रतीक्षामा रहेको पौडेलको भनाइ छ ।
जनमत पार्टीका उपाध्यक्ष दीपक साहले पनि आफ्नो पार्टीले एक सिटमा दाबी गरेको तर गठबन्धनले किन दिएन भन्नेबारे थाहा नपाएको बताए । गठबन्धनमा रहेका हरेक दलले राष्ट्रिय सभामा सिट पाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘सबैलाई दिएको भए गठबन्धनप्रति सबैको विश्वास कायम रहन्थ्यो ।’
जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी रहेको र राष्ट्रियसभा चुनावलगायतको विषयमा छलफल हुने उनले बताए ।
त्यस्तै, लोसपाका महासचिव डा.सुरेन्द्र झाले आफ्नो पार्टीले पनि एक सिटमा दाबी गरेको तर ठुला दलहरुलाई नपुगेका कारण सायद लोसपालाई नदिएको हुनसक्ने टिप्पणी गरे ।
राष्ट्रियसभामा ज–जसको सिट खाली भएका छन्, ती दलले मात्र पाउने भन्ने एउटा मापदण्ड गठबन्धनले बनाएका कारण अहिले लोसपाले भागबण्डा नपाएको हुन सक्ने उनको बुझाइ छ । तर लोसपा गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले प्रस्ट पारे । झाले भने, ‘गठबन्धन लामो समय चल्नुपर्छ भन्ने पक्षमा लोसपा छ, अरु धेरै कुरामा सहकार्य गर्न बाँकी नै छ ।’