आज बस्दै राष्ट्रिय सभामा उम्मेदवारी भागबन्डा गर्न सत्ता गठबन्धन

आज बस्दै राष्ट्रिय सभामा उम्मेदवारी भागबन्डा गर्न सत्ता गठबन्धन

 

 

 

 

 

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दै छ। आज बस्ने बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। यद्यपि बैठकको समय टुंगो लाग्न बाँकी रहेको उनले बताए।

‘हिजो राति अबेरसम्म बसेर छलफल गरेका छौं। आज साँझसम्म उम्मेदवारी बाँडफाँट टुंग्याउने छौं। सबैले आ–आफ्ना कुरा राख्नुभएको छ। सबैलाई विश्वासमा लिएर उम्मेदवारी टुंगो लगाउँछौं,’ उनले भने।

स्रोतका अनुसार रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ।

त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन। ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए।

एकीकृत समाजवादीले तीन सिटको ‘बटम लाइन’ अघि सारेको छ।

‘सधैँ उनीहरू (नेपाली कांग्रेस, माओवादी केन्द्र)का अप्ठ्यारा मात्रै हेरेर हुँदैन। हामीले बैठकमा तीन सिट चाहिन्छ भनेर भनेका छौं। एक किसिमले भन्दा हाम्रो निर्णय नै यही हो। योभन्दा दायाँबायाँ भयो भने हामी मान्दैनौं। हामीले माने पनि कार्यान्वयन हुँदैन भनेका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका एक नेताले भने।

अध्यक्ष नेपाललाई राखेर प्रस्तावलाई अन्तिम रूप दिइने र गठबन्धनको बैठक बसेर निर्णय गर्ने गठबन्धनको तयारी छ।

तीन सिट नै दाबी गरिरहेको जनता समाजवादी पार्टी पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले अघि सारेको प्रस्तावमा सहमत छैन।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) , नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टीले पनि भाग खोजेका थिए। उनीहरूले पनि सिट नपाउने पक्कापक्की भइसकेको एकीकृत समाजवादीका एक अर्काले भने।

‘नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रस्तावले सत्ता गठबन्धनभित्र असन्तुष्टिको बिजारोपण भएको छ। साना दलले भाग नपाउने भएपछि उनीहरू त्यसै रूष्ट हुने भए,’ ती नेताले भने, ‘आज पनि सहज ढंगले टुंगिन्छजस्तो लाग्दैन।’

उनले शनिबार चार दल बसेर केही क्लस्ट मिलाउन मात्र बाँकी राखेर सहमतिको खाका तयार पारेको बाहिर आए पनि एकीकृत समाजवादीसँग त्यस विषयमा कुराकानी नभएको बताए।

‘आफूअनुकूलका मानिसहरूलाई उहाँहरूलाई कहाँकहाँबाट ल्याउनुछ, त्यसपछि बँचेको क्लस्टर अरूलाई दिने होला,’ उनले असन्तुष्टि प्रकट गर्दै भने।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्लस्टरमा भागबन्डा मिलिसकेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार