ल्याण्डफिल्ड साइट क्षेत्रका केटालाई बिहे गर्नै गाह्रो फोहोरले ल्यायो सयौँ समस्या

ल्याण्डफिल्ड साइट क्षेत्रका केटालाई बिहे गर्नै गाह्रो फोहोरले ल्यायो सयौँ समस्या

 

 

 

काठमाडौं : उपत्यकामा फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन्।

 

फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ। यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन्। त्यसमा झण्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ।

कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ। स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन्।

यसले स्थानीयको आयआर्जन र उद्यमशीलतामा असर गरेको छ। ल्याण्डफिल्ड साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच हुनै छाडिसकेको बताइन्छ।

साथै बैंकले धितोसमेत अस्वीकार गर्न थालेको छ। यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प भएको छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ककनी गाउँपालिका २ का स्थानीय विश्वनाथ बजगाईं र राजकुमार घिमिरे फोहोर आएपछि अहिले ६५ प्रतिशत मानिसलाई क्यान्सर बढेको बताउँछन्।

जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरूमा रहेको जिकिर उनीहरूको छ। उनीहरूले कृषि उत्पादनहरूमा पनि किरा लाग्ने र बिग्रिने गरेको बताए। फोहोरको गन्धले टाउको दुख्ने समस्या त दैनिक रूपमा नै भोग्नुपर्ने अवस्था रहेको बताए।

ल्याण्डफिल्ड साइट क्षेत्रमा आर्थिक चक्र मात्र बिथोलिएको होइन, सामाजिक चक्रसमेत प्रभावित हुन थालेको छ। उनीहरूका अनुसार स्थानीय युवतीहरूको विवाह गाउँ बाहिर भए पनि बाहिरबाट विवाह भएर आउनेमा कमी भइसकेको छ। यस क्षेत्रमा बाहिर गाउँ समुदायको कसैले पनि छोरीचेली दिन मान्दैनन्।

छोराको बिहेवारीमा कमी हुँदै गएको छ। आफ्नो जग्गा छोडेर स्थानीयहरू विस्थापित हुनुपर्ने अवस्था आइसकेको गुनासो उनीहरूको छ। ककनी गाउँपालिका ३ का स्थानीय मनीष ढुंगाना र कृष्णहरि ढुंगानाले फोहोरका कारणले विभिन्न क्यान्सरका रोगदेखि फलफूल लगायतका कृषि उब्जनीमा ह्रास आएको बताए।

फोहोरकै कारणले विवाह गर्न नमान्ने, जग्गा बैंकमा राखेर बैंकले ऋण नदिने समस्या भइरहेको उनीहरूको भनाइ छ। युवतीहरूको विवाह गरेर अन्यत्र जान केही सहज भए पनि अन्यत्र ठाउँमा विवाहका लागि युवकहरूलाई युवती खोज्न समस्या भइरहेको बताए। अन्यत्र स्थानका मानिसहरूले फोहोर फाल्ने ठाउँ भएकै कारण कन्या नदिने गरेको बताए।

नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहने गरी सुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल्ड अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ। २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो।

सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर निरन्तर फाल्न थालेको १९ वर्ष बढी भइसकेको छ। फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन्। यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ।

स्थानीय गाउँ छोडेर बसाईं सर्न थालेका छन्। केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरूले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार