चिकित्सक विशद दाहाल निलम्बन

चिकित्सक विशद दाहाल निलम्बन

 

काठमाडौं मेडिकल कलेजले प्रक्रिया मिचेर आवासीय चिकित्सक विशद दाहाललाई निलम्बन गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कलेजले दाहाललाई स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै कुनै पनि गतिविधिमा संलग्न हुन नपाइने गरी एक महिनाका लागि निलम्बन गरेको हो। जबकि कलेजले उनलाई निलम्बन गर्नुअघि पहिले मौखिक र त्यसपछि पनि लिखित स्पष्टीकरण सोध्नुपर्ने थियो।

काठमाडौं विश्वविद्यालयका डिन डाक्टर मनोज हुमागाईंले पनि दाहालमाथि गरिएको निलम्बन नियमसंगत नभएको बताएका छन्।

‘कलेज प्रशासनले पनि कारबाही गर्न पाउँछ। तर जुन हिसाबले दाहाललाई निलम्बन गरिएको छ, त्यो नियमसंगत छैन,’ हुमागाईंले सेतोपाटीसँग भने, ‘निलम्बन गर्नुअघि पहिले मौखिक स्पष्टीकरण लिने, लिखित स्पष्टीकरण लिनुपर्छ। त्यो गर्दा पनि भएन भने चेतावनी दिने हो। निलम्बन भनेको अन्तिम प्रक्रिया हो।’

दोस्रो, कलेजले दाहाललाई निलम्बन गर्नुअघि आफूले सम्बन्धन लिएको काठमाडौं विश्वविद्यालयलाई समेत कुनै जानकारी गराएको छैन।

आफूले घटनाबारे सामाजिक सञ्जालबाट थाहा पाएको उल्लेख गर्दै विश्वविद्यालयका डिन हुमागाईंले भने, ‘निलम्बन गर्ने भएपछि हामीलाई जानकारी हुनुपर्छ तर अहिलेसम्म कुनै जानकारी भएको छैन। त्यसैले मैले घटनाबारे जानकारी गराउनुस् नत्र आन्तरिक रूपमा हल गरिहाल्नुस् भनेर एक दिनको समय दिएको छु। नभए आइतबार हामीले आफ्नो तहबाट हस्तक्षेप गर्नुपर्ने हुन्छ।’

आवासीय चिकित्सक दाहालले भने कलेजले पाठ्यक्रममै नभएको स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेर आवासीय चिकित्सकहरूलाई अत्यधिक पेल्न थालेपछि आफूहरूले संयुक्त रूपमै आगामी दिनमा त्यस्ता कार्यक्रममा सहभागी नहुने कलेज व्यवस्थापनलाई जानकारी गराएको बताए।

गत साता दाहालसहित ९० जना आवासीय चिकित्सकले संयुक्त हस्ताक्षर गरी स्वास्थ्य शिविर कार्यक्रममा सहभागी नहुने निवेदन दिएका थिए।

पछिल्लो समय अस्पतालले आवासीय चिकित्सकलाई अस्पतालभित्र ड्युटी खटाउनेभन्दा पनि बढी बाहिरी ठाउँहरूमा आयोजना गरिएको स्वास्थ्य शिविरहरूमा खटाउँदा त्यसले पढाइमा प्रत्यक्ष असर पुगेको दाहाल बताउँछन्।

कहिलेकाहीँ त महिनाको १५ दिनसम्म आवासीय चिकित्सकहरू शिविरमा हुने उल्लेख गर्दै दाहालले भने, ‘हामीले हेल्थ क्याम्प गर्नु हुँदैन भनेका छैनौं तर अस्पताललाई शिविरहरूमा आफ्नो स्टाफलाई लैजानु मात्र भनेका हौं। हामी आवासीय चिकित्सक भनेको विद्यार्थी हो। हामीले भनेको पढ्ने र अस्पतालको ड्युटी गर्ने हो। त्यसरी महिनामा आधा समय शिविरमा बिताउँदा हामीले के सिक्छौं?’

दाहालले गत वर्षदेखि नै कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरहरूमा बढी खटाउन थालेकोबारे कुरा उठाउँदै आएका थिए। सुरूमा काठमाडौंभित्र आयोजना गरिएका शिविरहरू पछि बाहिरी जिल्लाहरूमा पनि सञ्चालन गर्न थालियो। तर यसको पछाडि व्यक्तिगत स्वार्थ रहेको र त्यसलाई पूरा गर्न आवासीय चिकित्सकहरूमाथि अस्पतालले शोषण गरेको दाहालको बुझाइ छ।

‘स्वास्थ्य शिविर सञ्चालन गर्ने कुरा नराम्रो होइन तर यहाँ व्यक्तिगत एजेन्डाका लागि शिविर सञ्चालन भइरहेको थियो। कोही मान्छेको राजनीतिक प्रचारप्रसार र दाउपेचका लागि हामी कतिञ्जेल प्रयोग हुने?,’ उनले प्रश्न गरे।

काठमाडौं मेडिकल कलेज प्रतिनिधि सभा सांसद सुनिल शर्माको हो। उनले पहिल्यैदेखि आफ्नो प्रभाव छोड्न विभिन्न ठाउँहरूमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै दाहालले त्यस्ता शिविरहरूमा अस्पतालका कर्मचारी नभएर आवासीय चिकित्सकहरू खटिँदै आएको जनाए।

काठमाडौं विश्वविद्यालयका डिन हुमागाईं पनि आवासीय चिकित्सकहरूलाई बारम्बार शिविरमा पठाउँदा त्यसले उनीहरूको पढाइमा असर पुर्‍याउने उल्लेख गर्दै भने, ‘क्याम्प गर्ने कुरा सामाजिक उत्तरदायित्वभित्र पर्छ तर बारम्बार क्याम्प पठाइयो भने त्यसले एकेडेमिक आवर प्रभावित हुन्छ।’

दाहालले पनि सुरूमा एक-दुइटा मात्र स्वास्थ्य शिविर सञ्चालन हुने गरेकामा पछि गएर त्यो संख्या अचाक्ली बढेको बताए। जसले गर्दा आवासीय चिकित्सकहरू महिनामा मुस्किलले १५ दिन अस्पतालमा बस्न पाएको उनी सुनाउँछन्। साथै शिविरमा रहेका बेला मानवीय कुरालाई पनि ख्याल नगरेको दाहालको गुनासो छ।

उनले शिविरमा अत्यधिक खटाउने र खान र बस्न समेत राम्रो व्यवस्थापन नहुने गरेको उल्लेख गर्दै भने, ‘रातिको २ बजेसम्म खट्नुपर्थ्यो। फेरि भोलि बिहान आठै बजे क्याम्प सुरू गर्नुपर्थ्यो। न खान मजाले पाइने न सुत्न। एकै ठाउँमा बीस जना कोच्चिनुपर्थ्यो। महिला पुरूष केही ख्याल हुन्थेन। एक जनाले दुई हजारसम्म मानिसहरूलाई जाँच गर्नुपर्थ्यो।’

उनले पछिल्लो प्युठानको शिविरमा त एक जना रेसिडेन्ट डाक्टर रक्तस्राव र छारे भएर बिरामी नै परेको र अहिले पनि उनी उपचाररत रहेको सुनाए। यसरी मान्छे नै आइसियूमा पुग्ने र पढाइ पनि ध्वस्त हुने अवस्था आइसकेपछि आफूहरूले शिविरमा सहभागी नहुने भनेर आवाज उठाएको दाहाल बताउँछन्।

गत वर्ष पनि दाहालसहितको टोलीले व्यवस्थापनसँग यस विषयमा कुरा उठाएको थियो। तर व्यवस्थापनले सो कुरालाई गम्भीरताका साथ लिएन। बरू शिविर कार्यक्रमलाई झन् बढाउँदै लग्यो। यसपालि भने दाहालसहित ९० जना आवासीय चिकित्सकको टोलीले हस्ताक्षरसहित कलेज प्रशासनलाई पत्र बुझायो। तर पत्र बुझेको एक साता नपुग्दै कलेजले हिजो बिहीबारका लागि काठमाडौं गैरीगाउँमा अर्को शिविरको आयोजना गर्यो र सबै आवासीय चिकित्सकलाई अनिवार्य उपस्थित हुन भनियो।

तर दाहालसहित कोही पनि आवासीय चिकित्सक शिविरमा जान तयार भएनन्। त्यसपछि अस्पतालले विभागीय दबाबमा सबैलाई अनिवार्य सहभागी हुन भनियो।

‘पत्र बुझाएपछि यिनीहरूले हामीले भनेको नमान्ने भन्ने हिसाबले नयाँ हेल्थ क्याम्पको आयोजना गर्यो र मेरो नामसहित सबै जना क्याम्पमा हाजिर हुनुपर्छ भनियो। सुरूमा त कोही पनि गएनन्। पछि पास/फेलको कुरा आएपछि अरू साथीहरू जानुभयो। म भने गइनँ,’ दाहाल भन्छन्, ‘एक त पाठ्यक्रममै नभएको कुरा त्यसमाथि अमानवीय ढंगले शिविरमा खटाउँदा पढाइ पनि बर्बाद भइसकेको थियो। त्यसैले त्याग गरेर भए पनि म आफ्नो अडानमा उभिएँ।’

उनले आफूले यो विषयलाई लिएर गएको एक वर्षदेखि नै कुरा उठाउँदै आए पनि कुनै सुधार नभएको जनाए। त्योबेला चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलबाट पनि टोली आएको तर त्यहाँ पनि कसैले कदम नचालेको उनले बताए। जसले गर्दा कलेजले झन् मनपेट पाएर शिविरमा धेरै आवासीय चिकित्सकहरूलाई खटाएको दाहाल सुनाउँछन्।

अहिले निलम्बनमा परेका दाहाल अस्पतालको ड्युटी छोडेर घरमा बसिरहेका छन्। आफ्नो फोटो नै सर्कुलर गरेर कलेजले अस्पताल छिर्न नदिनु भन्ने उर्दी जारी गरेको उल्लेख गर्दै उनले भने, ‘मेरो फोटो नै सर्कुलर गरेर गार्डहरूलाई दिएको छ रे। त्यसैले म हिजोदेखि घरमै छु।’

अब यो घटनालाई लिएर आयोग कसरी अगाडि बढ्छ भनेर हेर्ने र त्यसपछि पनि भएन भने आफूले कानुनी बाटो खोज्ने दाहालले जनाए।

आफू यो घटनालाई लिएर दुई चार दिनदेखि नै आयोगका उपाध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको र प्रतिवाद गर्न आग्रह पनि गरेको उनले सुनाए। हिजोको घटनाबारे पनि आफूले आयोग र काउन्सिलमा मौखिक र लिखित दुबै जानकारी गराएको दाहालले बताए।

More From Author

आन्तरिक चुनावमा अमेरिकामा दुई राज्यको ट्रम्पलाई प्रतिबन्ध

पोहोर बाबु बिते, आज बालकुमारीमा छोरा ढल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *