
अमेरिका-प्रवासी दुःख–सुख र मानसिक यातनाको कथा—‘प्रवासी जीवन’ नेपाल दर्शकले चाँडै एउटा संवेदनशील र यथार्थपरक कथासँग परिचित हुने छन्। महानायक राजेश हमाल मुख्य भूमिकामा रहेको ‘प्रवासी जीवन’ नामक चलचित्र फागुन १५ गतेदेखि देशभर प्रदर्शन हुने पक्का भएको छ। विदेशिने नेपालीको मनोभूमि, पारिवारिक विछोड, संघर्ष र भविष्यप्रतिको अपेक्षालाई केन्द्रमा राख्दै तयार गरिएको यस चलचित्रले विशेषगरी मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको छ।

फिल्मका सह-निर्देशक श्याम क्षेत्रीका अनुसार, प्रवासमा पुगेका मानिसहरूको जीवन केवल आर्थिक मेहनतसम्म सीमित हुँदैन। उनीहरू भोग्ने अव्यक्त मानसिक दबाब, तनाव र एक्लोपनलाई पर्दामा जस्ताको तस्तै उतार्ने प्रयास गरिएको उनले बताए। उनका शब्दमा, “विदेशमा पुग्दा परिवर्तन हुने जीवनशैली र मानसिक यात्रालाई धेरैले खुलाएर बोल्दैनन्। हामीले त्यही अदृश्य पीडा र त्यसपछि देखा पर्ने आशाको कथा दर्शकसँग बाँड्न खोजेका हौँ।”
राजेश हमालसँगै सरिता लामिछाने, बुद्धि तामाङ, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी लगायत कलाकारहरूले अभिनय गरेको चलचित्र अमेरिकाका सुन्दर ठाउँमा छायाङ्कन गरिएको हो। निर्देशक क्षेत्री स्वयं पनि एउटा महत्वपूर्ण भूमिकामा देखिँदैछन्।
श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनद्वारा निर्माण गरिएको यस फिल्मका निर्माता रविन आचार्यले कथावस्तु नै कलाकारलाई आकर्षित गर्ने प्रमुख कारण रहेको बताए। उनका अनुसार, ‘प्रवासी जीवन’ ले मानसिक स्वास्थ्यबारे समाजमा आवश्यक चेतना जगाउने विश्वास गरिएको छ।
प्राविधिक पक्षमा अमृत बिसुवा (छायांकन), राम अधिकारी (सम्पादन), सुवास सिन्चुरी (पाश्र्व संगीत), देवी खतिवडा (शृङ्गार), राज शंकर र प्रतिक सार्की (ध्वनि) लगायत अनुभवी टोलीले काम गरेका छन्। प्रमोद खरेल र प्रताप दासले गीतमा स्वर दिएका छन्।
फिल्मको वितरण जिम्मा आरआर फिल्म्स ले लिएको छ। प्रवासमा रहेका लाखौँ नेपालीका भोगाइ, पीडा र प्रेरणादायी यात्रालाई उजागर गर्ने भएकाले चलचित्र दर्शकको मन छुने अपेक्षा गरिएको छ।

343 पटक हेरिएको 

